सोती हत्याकाण्ड : अनुसन्धानमा खटियो आयोग टोली

काठमाडौं, अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा छ जनाको ज्यान जाने गरी भएको घटनाको थप अनुगमन तथा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुकुम तथा जाजरकोटतर्फ प्रस्थान गरेको छ।

आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईंको नेतृत्वमा रहेको आयोग टोलीले उक्त घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटनापपछि शान्तिसुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवम् शान्तिसुरक्षाको कार्य सम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने आयोगले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

जातीय विभेदसँग सम्बन्धित उक्त अमानवीय तथा आपराधिक घटनालाई कुनै पनि पक्षले तरंगित र अतिरञ्जित बनाउने कार्य नगर्न तथा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्ने प्रक्रियामा आवश्यक सबै प्रकारका सहयोग पुर्याउन आयोगले जनप्रतिनिधि, राजनीतिक दल, मानवअधिकारकर्मी, नागरिक समाज र स्थानीय बासिन्दासमेतलाई आग्रह गरेको छ।