किमजोङ बिरामी भएको भन्ने समाचार झुट ! कोरियाले गर्यो खण्डन
काठमाडौँ, उत्तर कोरियाका सर्वोच्च नेता किमजोङ उन बिरामी भएको भन्ने समाचार झुट भएको बताइएको छ । उक्त समाचारको दक्षिण कोरियाले खण्डन गरेको छ । केही दिनदेखि केही संचारमाध्यमहरुले किमजङको मुटुको शल्यक्रियापछि गम्भीर बिरामी परेको बताएका थिए । उक्त समाचार झुट भएको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अधिकारीले बताएको बीबीसीले समाचार प्रकाशित गरेको छ ।
यतिसम्मकी किमजोङको ‘मस्तिष्कको मृत्यु’ भएको समाचार प्रकाशित भएका थिए । तर दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले किमजोङ बिरामी भएको कुनै संकेत नपाएको बताएको छ । यसअघि पनि पश्चिमा मिडियाहरुले किमको स्वास्थ्यलाई लिएर भ्रमपूर्ण समाचार प्रकाशित गर्दै आएका थिए ।
यसरी भएको थियो झुट समाचारको सुरुवातः
नेता किमजोङ अप्रिल १५ मा आफ्ना हजुरबुवा तथा उत्तर कोरियाका संस्थापक नेता किम इल सङको जन्मजयन्ती मनाउन आयोजित कार्यक्रममा सहभागी नदेखिएको समाचार प्रशारण भयो । किमजोङ कार्यक्रम उपुग्दै पहिले खिचिएको फोटोलाई उनको अनुपस्थिति भन्दै समाचार लेखिएको बताइएको छ । तर उक्त कार्यक्रममा उन सहभागी थिए वा थिएनन् भन्ने उत्तर कोरियाले औपचारिक रुपमा पुष्टी भएको छैन । तर, त्यही विषयलाई लिएर उन गम्भीर बिरामी परेको अनुमान लगाइयो ।
विश्वमा कोरोना आतंक बढिरहेको बेला आफ्नो त्यसबाट मुक्त भएको किमजोङले घोषणा गर्दै पार्टीको बैठक बोलाएका थिए भने मजदूरलाई सम्बोधन गरेका थिए । विश्व कोरोनाबाट आतंकित भइरहेको बेला उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले अप्रिल १२ मा किमजोङले लडाकु विमानको निरीक्षण गरिरहेको फोटो सार्वजनिक गरेका थिए । त्यसैगरी अप्रिल ११ गते किमजोङ पार्टीको बैठक गरेको बताइएको छ । उत्तरकोरियाले एक हप्ता पहिलेमात्रै क्षेप्यास्त्र परीक्षण गरेको थियो । चीनमा कोरोना संक्रमण देखिएलगत्तै उत्तर कोरियाले आफ्ना सबै सीमा बन्द गरेको थियो ।
कसरी आयो समाचार
उत्तर कोरियाका भगौडाले संचालन गरेको डेली एनके अनलाइनले पहिलो पटक किमजोङ बिरामी भएको समाचार प्रकाशित गरेको थियो । उनले विना स्रोत गत अगस्टदेखि मुटु र रक्तनलीसम्बन्धी समस्याबाट पीडित भएको र माउन्ट पेक्टुको भ्रमण गरेपछि उनको अवस्था बिग्रिएको दाबी गरेको थियो ।
त्यसपछि अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले त्यही एकल स्रोतका आधारमा विवरणहरू प्रकाशित गरे । त्यसपछि दक्षिण कोरिया र अमेरिकाका गुप्तचर निकायले पनि त्यो दाबी कति सत्य हो भनेर बुझ्न खोजेका थिए तर अहिलेसम्म समाचार बताइएअनुसार उन बिरामी भएको पुष्टी हुन सकेको छैन ।
तर पनि अमेरिकी सञ्चारमाध्यममा उत्तर कोरियाली नेता मुटुको शल्यक्रियापछि गम्भीर अवस्थामा भएको शिर्षकसहित समाचार प्रकाशित भयो । त्यसलगत्तै दक्षिण कोरिया सरकारले एउटा विज्ञप्ति प्रकाशित गर्दै समाचार असत्य भएको बतायो । त्यसैगरी चिनियाँ गुप्तचर निकायले पनिसमाचार संस्था रोएटर्सलाई उक्त समाचार असत्य भएको बताए ।
यसअघि सन् २०१४ को अक्टोबरमा एउटा उत्तर कोरियाली पत्रिकाले उनले लौरो टेकेको देखिने तस्बिरहरू प्रकाशित गर्यो । त्यसलाई उनलाई सत्ताबाट हटाइएको भन्दै पश्चिमा मिडियाहरुले निकै प्रचार गरे । फोटोमा उनले सैन्य अधिकारीलाई निर्देशन दिइरहेको देखिएपनि उक्त प्रचार गरियो ।