सरकार जनताकाे अभिभावक बन्र सकेन: अध्यक्ष राणा

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले दैनिक ज्याला मजदुरी गर्ने गरिबको पिडा नसुनेर जनताको अभिभावक बन्नबाट सरकार पूर्ण चुकेको बताएका छन् । ‘दैनिक ज्यालामा बाँच्ने गरिब नेपालीको पिडा अहिलेको टड्कारो समस्या हो । खाली पेट बच्चा बोकेर लामो दुरी हिँड्दै घर फर्कन बाध्य नागरिकलाई सरकारले थुन्न थालेको छ,’ अध्यक्ष राणाले बिहीबार भने ।

‘थुनेर मात्र समस्याको हल हुँदैन, विपन्न वर्गको कष्ट दूर गर्दैन । यस मानेमा जनताको अभिभावक बन्नबाट सरकार पूर्ण चुकेको छ ।’ सङ्कटको समयमा सरकारले मानवीय संवेदना प्रदर्शन गर्न नसकेको राणाको ठहर छ । ‘बन्दा बन्दी कार्यान्वयन गर्न सरकार अमानवीय बन्नुपर्ने बाध्यता छैन’ भन्दै उनले भने, ‘बिचल्लीमा परेका श्रमिकलाई कि त घर पुग्ने यातायात व्यवस्था गर्नुपर्‍यो । जहाँ छन् त्यहीँ राख्ने भए गाउँपालिका, नगरपालिकामार्फत खाने बस्ने प्रबन्ध गर्नुपर्‍यो । जनताको सरकारले गरिब नेपालीको, श्रमिक नेपालीको अभिभावकत्व ग्रहण गर्नुपर्‍यो ।’

विपद् व्यवस्थापनको स्थापित मान्यता विपरीत सरकारले नै गृह प्रशासनलाई गुमराहमा राखेकोमा राणाले चिन्ता प्रकट गरेका छन् । कोरोना महामारी विरुद्धको सङ्घर्षमा गृह प्रशासनलाई पूर्ण बाइपास गर्नु आठौँ आश्चर्य सरह भएको उनले बताए ।

‘विपद् व्यवस्थापनमा गृह मन्त्रालयको केन्द्रीय भूमिका रहने गर्दछ । तर को भिड–१९ विरुद्धको सङ्घर्षमा गृह प्रशासनलाई पूर्ण बाइपास गरिएको छ । पद्धति अनुकूल राज्यको प्रमुख संरचना क्रियाशील नगराउनु आठौँ आश्चर्य सरह हुन्छ । यस्तो असामान्य परिदृश्यले सङ्कटमा सही र सकारात्मक सन्देश प्रवाह गर्दैन,’ राणाले भने ।

राप्रपा अध्यक्षले ट्विट गर्दै प्रकोपको बेलामा सरकार मितव्ययी बन्नु पर्ने सुझाएका छन् । पछिल्ला नियुक्तिहरू असान्दर्भिक रहेको भन्दै सरकारको आलोचना पनि गरेका छन् ।

‘विश्व महामारीमा छ, देश सङ्कटमा छ । तर कहीँ नभएको जात्रा हाँडी गाउँमा जस्तो सरकार नयाँ–नयाँ पद सिर्जनामा लागेको छ । जबकि सरकार अहिले मितव्ययी बनेर उदाहरण बन्नु पर्ने हो,’ उनले भने । ‘यसैले अत्यावश्यक बाहेकका सुविधा, जम्बो सुरक्षा, सल्लाहकार टोली कटौती गरी स्रोत जनसेवामा लगाउनु बुद्धिमानी हुनेछ ।’