नेकपाको बैठकमा दुई अध्यक्षको फोटो नराख्ने

काठमाडौं,चर्को आलोचना भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अबदेखि पार्टीका बैठक तथा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने भएको छ ।

केन्द्रीय कमिटी बैठक स्थल राष्ट्रिय सभा गृहमा राखिएको व्यानरको दायाँवायाँ दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्वीर राखिएको भन्दै नेताहरुले प्रश्न उठाएका थिए । यसअघि कम्युनिस्ट पार्टीका बैठकमा मार्क्स, लेनिनको तस्वीर राख्ने गरिएकोमा यस बैठकमा भने नराखिएको भन्दै आलोचना भएको थियो भने समूहगत छलफलमा समेत नेताहरुले यसबारे प्रश्न उठाएका थिए ।

जसको जवाफ आइतवार (आज) प्रचण्डले दिएका छन् । उनले अबदेखि पार्टीका बैठकमा दुई अध्यक्षको तस्वीर नराख्ने बताएका हुन् । उनले पार्टी एकताका बाँकी काम १५ दिनभित्र टुंगो लगाइसक्ने समेत जवाफका क्रममा बताएका छन् । अब हुने मनोनयन र कमिटी गठनहरुमा महिलालाई प्राथमिकता दिने र सबै कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गराइने उनले जवाफि सम्बोधनमा बताए ।  प्रचण्डले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको इण्डो प्यासिफिक रणनीति अमेरिकाले चीनलाई घेर्न ल्याएको भन्ने शब्द हटाइने बताएका थिए ।