विप्लव नेकपाले गर्यो कञ्चनपुरका स्थानीय तहमा तालावन्दी

महेन्द्रनगर, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कञ्चनपुरका विभिन्न स्थानीय तहमा तालाबन्दी गरेको छ । विप्लवले जिल्लाका नगर/गाउँ तथा वडा कार्यालयमा शनिबार राति तालाबन्दी गरेको हो ।

महाकाली, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी, बेलडाँडीका कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरिएको छ । विदाका दिन तालाबन्दी गरिएपछि स्थानीय जनप्रतिनिध अचम्मित भएका छन् । स्थानीय तहका कार्यालय एवं वडामा लगाएको तालाबन्दी प्रहरीले तोडिदिएको छ ।

तालाबन्दी गरिएका कार्यालय क्षेत्रमा विप्लव नेतृत्वको नेकपाले अपिल पत्र छोडेको थियो । सरकारले आफ्ना नेता कार्यकर्तामाथी धरपकड, पक्राउ गरेर हत्या र स्थानीय तहले भ्रष्टाचार गरेको कारण तालाबन्दी गरेको जनाएको छ ।

नेकपा कञ्चनपुरका सचिव राजेन्द्र विष्ट(परिर्वतन)ले सबै स्थानीय तहका कार्यालय एवं वडामा लगाएको तालाबन्दीको जिम्मा लिएको छ । ‘राष्ट्रवादी शक्तिमाथी सरकारले दमन गरिरहेको छ, ‘सचिव विष्टले भने, ‘त्यसको विरुद्धमा हाम्रो स्थानीय सरकारमाथि चेतावनी स्वरुप तालाबन्दी गरिएको हो ।’

सचिव विष्टले स्थानीय तह जनताको काम भन्दा पनि आर्थिक अनियमिता तर्फ उन्मुख भएको आरोप लगाए । नेकपा विप्लवले आफ्ना नेता, कार्यकर्तामाथि गरिने दमन रोक्नसमेत माग गरेको छ ।