प्रदेश नम्बर १, ३, ४ र ५ को मुख्यमन्त्री एमाले, ६ र ७ मा माओवादी केन्द्रबाट

देशमा निर्वाचित प्रदेशसभाहरुको पहिलो अधिवेशन धमाधम आह्वान भएसंगै प्रदेश सरकार बन्ने तयारी सुरु भ्एको छ । प्रदेश नम्बर तीनमा प्रदेशसभाको पहिलो अधिवेशन माघ १८ गतेका लागि बस्नेगरी आह्वान भएको छ भने, प्रदेश नम्बर दूई र सातमा प्रदेशसभा अधिवेशन माघ २१ गतेका लागि डाकिएका छ। अन्य प्रदेशमा पनि माघ तेस्रो सातामा नै प्रदेश अधिवेशन बोलाउनु पर्ने संवैधानिक बाध्यता छ ।

प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले तीस दिनभित्र गठबन्धन सरकारसमेत बन्न नसकेको अवस्थामा प्रदेश प्रमुखले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्रीका रुपमा नियुक्त गर्नु पर्ने संवैधानिक व्यवस्थाका कारण फागुन ५ अगावै सातै प्रदेशमा मुख्य मन्त्री नियुक्त भइसक्ने निर्वाचन आयुक्त नरेन्द्र दाहालले बताए । प्रदेशसभा सदस्यका लागि गत मंसिर १० र २१ भएको निर्वाचनको अन्तिम परिणाम माघ ५ गते मात्रै प्रकाशित भएको थियो । सरकारले प्रदेश प्रमुख नियुक्तीमा ढिलाई गरेका कारण प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्रकाशनमा ढिलाई भएको थियो ।

प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले बीस दिन भित्र प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था (धारा १८३)अनुरुप प्रदेशका प्रदेश प्रमुखहरुले प्रदेशसभा अधिवेशन अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेशसभाका सदस्यहरुले आफुमध्येबाट सभामुख र उपसभामुखको चयन गर्नेछन् भने, नियमावलीले तोके अनुसार संसदीय समितिहरु गठन गर्नेछन् । प्रदेश सभामुख र उपसभामुख फरक लिङ्ग र फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्य मन्त्रिमा नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदो गठन हुने संवैधानिक व्यवस्था छ । प्रदेश नम्बर १ र ३ मा वाम गठबन्धनको मुख्य घटक एमाले एक्लैको बहुमत प्राप्त गरेको छ । प्रदेश नम्बर ५ मा भने एमालेले स्थायी समिति सदस्य शंकर पोखरेललाई संसदीय दलको नेता चयन गरिसकेको छ । कुनै पनि दलको स्पष्ट बहुमत नभएका प्रदेशहरुमा भने प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्छ ।

प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको दिन माघ ५ लाई आधार मान्दा फागुन ५ भित्र सबै प्रदेशमा मुख्य मन्त्रीको चयन र निजको अध्यक्षतामा प्रदेश सरकार बन्नु पर्ने हुन्छ । वाम गठवन्धनले प्रदेश नम्बर दुई बाहेकका सबै प्रदेशमा बहुमतको सरकार बनाउने गृहकार्य गरिरहेको छ भने, दुई नम्बर प्रदेशमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले गठबन्धन सरकार बनाउने संभावना बलियो छ । प्रदेश नं १, ३, ४ र ५ मा एमालेका तर्फबाट मुख्य मन्त्री हुनेछन् भने प्रदेश नं. ६ र ७ मा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बन्ने बाम गठवन्धनको शिर्ष नेतृत्वले समझदारी गरेको छ ।