२१ दिनसम्म मुलुक लकडाउन गर्ने भुटानको घोषणा,मंगलबारबाट लागु हुने

एजेन्सी,  थिम्पु भुटानले मंगलबारबाट लागु हुने गरि २१ दिनसम्म मुलुक लकडाउन गर्ने घोषणा गरेको छ। सोमबार घोषणा भएको २१ दिने लकडाउन मंगलबारबाट लागु हुने बिभिन्न सञ्चारमाध्यामले जनाएका छन ।

भुटानका प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ। उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ।

भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै २१ दिने लकडाउन घोषणा गरिएको हो। भुटानमा सोमबारसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

अमेरिकाको जोन्स हकिन्स विश्वविद्यालयका अनुसार सबैभन्दा पहिलो बिरामी मार्च ५ मा भेटिएका थिए। ती व्यक्ति अमेरिकाका ७६ वर्षीय पर्यटक थिए। उनी भारतको आसाम घुमेर भुटान आएका थिए।