प्रशासनसँग अनुमति लिएर उद्धारमा खटिन तरुण दलकाे निर्देशन

काठमाडौं, १८ चैत । नेपाल तरुण दलले लकडाउनका कारण देशभरिको जनजीवन कष्टपूर्ण भएको भन्दै स्थानीय प्रशासनसंग अनुमति लिएर नियम कार्यान्वयन, क्रियाकलापमा सहजीकरण गर्न आफ्ना जिल्ला अध्यक्षहरूलाई परिपत्र गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले मंगलबार ७७ वटै जिल्लाका तरुण अध्यक्षहरूलाई परिपत्र जारी गर्दै सामाजिक दुरी कायम गरेर स्थानीय प्रशासनको अनुमति लिएर जनचेतना, उद्धार, राहत वितरणलगायतका कार्यक्रमहरू निर्देशन दिएका हुन् ।

‘बाहिरी मुलुकबाट आएका व्यक्तिहरू क्वारेन्टाईनसम्म पुग्न नसकेका र नपुगेका भए प्रशासनसंग सहयोग लिई पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्ने’, परिपत्रमा भनिएको छ ।

‘सरकारले लागू गरेको लकडाउनको पूर्ण पालना गर्न र गराउन आवश्यक भूमिका निर्वाह गर्ने’, अध्यक्ष बस्नेतले भनेका छन्, ‘देशका विभिन्न भू–भागबाट तपाईहरूको ठाउँमा आई बसोबास गर्ने व्यक्तिलाई कुनै समस्या परेको भए सो समस्या समाधान गर्न सहयोग गर्ने ।’

‘लकडाउनका कारण आफनो गन्तव्य सम्म पुग्न नपाई बीचबाटोमा अलपत्र परेका व्यक्तिहरूलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्ने’, परिपत्रमा भनिएको छ, ‘खाद्यान्न, तरकारी, दुध, औषधि, पानी लगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भिडभाड हुने भएकाले केही सजकता र एक अर्काबीच दुरी कायम गर्नुपर्ने हुन्छ । यसका लागि स्थानीय प्रशासनको समन्वयमा खरिद प्रक्रियामा सहजीकरण गर्ने ।’

‘लकडाउनको समयमा सम्पूर्ण गतिविधि बन्द गर्नु भएका कारण दिनभरि ज्यालामजदुरी गरेर साझ बिहानको छाक टार्ने वर्गलाई समस्या पर्ने भएका कारण ती वर्गको दैनिक जीवन निर्वाहको लागि आवश्यक सहयोग गर्ने’, तरुण दलले भनेको छ, ‘भारतका विभिन्न ठाउँबाट नेपाल आउनका लागि हिडेका नेपाली समुदायका मानिसहरु लकडाउनका कारण देशभरिका विभिन्न सीमा नाकामा अलपत्र परेका हुनाले ती व्यक्तिहरू तोकिएको समय क्वारेन्टाईनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन नेपाल तरुण दलका सम्बन्धित जिल्लाका जिल्ला अध्यक्षहरूले स्थानीय प्रशासन संग समन्वय गर्ने ।’

‘लकडाउनको समयमा आफ्नो वरिपरिको वातावरणको सरसफाईमा ध्यान दिने र आफू, आफ्नो परिवार र समाजलाई सुरक्षित राख्ने’, तरुण दलको परिपत्रमा भनिएको छ, ‘अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गरिन्छ ।’