इटलीमा कोरोनाले ११ हजारको मृत्यु

काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) महामारी घोषणा गरेको प्राणघातक कोरोनाभाइरसको संक्रमणबाट इटलीमा मर्नेको संख्या साढे ११ हजारभन्दा बढी पुगेको छ । कोरोनाभाइरसको संक्रमणबाट इटलीमा अहिलेसम्म ११ हजार पाँचसय ९१ जनाको मृत्यु भइसकेको जोन्स हाप्किन्स युनिभर्सिटीले पुष्टि गरेको छ ।

इटलीमा औसत रुपमा दैनिक छ सयभन्दा बढी संक्रमितको मृत्यु भइरहेको युनिभर्सिटीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इटलीको लोम्बार्डी क्षेत्र कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ ।

इटलीमा अहिलेसम्म संक्रमणका एक लाखभन्दा बढी मामिलाहरु बाहिर आइसकेका छन् । यद्यपि, त्यहाँ १४ हजारभन्दा बढी मानिसहरु उपचारपछि निको पनि भइसकेका छन् । इटलीसँगै स्पेनमा पनि मर्नेको संख्या लगातार बढ्दै गएको छ । मंगलबार बिहानसम्म स्पेनमा सात हजारभन्दा बढी संक्रमितका मृत्यु भइसकेको छ । स्पेनमा १६ हजारभन्दा पनि बढी संक्रमितहरु उपचारपछि निको भएका छन् भने ८७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।