पाटन अस्पतालमा कोरोना आशंकित भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

काठमाडौं, ललितपुरको पाटन अस्पतालमा कोरोना आशंकामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । अस्पतालको आइसीयूमा रहेका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । तर उनको परीक्षणको रिपोर्ट आइनसकेको पनि स्रोतले बताएको छ । उनको आज (सोमबार) दिउँसो ३ बजेसम्ममा परीक्षण रिपोर्ट आउन सक्ने जनाइएको छ ।

अस्पतालमा कोरोनाको आशंकामा तीन जनालाई आइसोलेसनमा राखिएको अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माले जानकारी गराएका छन् । फागुन १४ गते अस्पताल आएका धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ३६ वर्षीय ती बिरामीको ३ बजेतिर रिपोर्ट आएपछि मात्र मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ ।

ती बिरामीलाई आइतबार ४ बजे अस्पताल ल्याइएको थियो र उनलाई आईसीयूमा भर्ना गरिएको मृत्तकका आफन्तले जनाएका छन् । १८ वर्षदेखि भारतीय सेनामा कार्यरत उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको थियो ।