‘कोरोनाविरुद्ध खोपको तीव्र गतिमा विकास हुँदै’

लन्डन,नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमणबाट विश्वभरका मुलुक आतंकित बनेका छन् । हालसम्म ६ लाखभन्दा बढी संक्रमित भएका छन् भने २८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।

विश्वभर संक्रमणको दर यसरी बढ्दै जाँदा यसको उपचार र खोपको कहिले भन्‍छ भन्‍ने आमचासो बढेको छ । संसारका मानिसहरुले कोरोना भाइरसविरुद्धको खोप कहिले बन्छ भनेर विश्वभरबाट चासो व्यक्त गरिएको छ ।

बेलायतको अक्सफोर्ड विश्‍वविद्यालयको खोप विकास टोलीको नेतृत्व गरिरहेकी प्रोफेरसर सारा जिलबेर्टले आफूहरु जतिसक्दो चाँडो खोप विकास गर्न लागिरहेको बताएकी छन् । उनले खोप पूर्णरुपमा विकास भएर प्रयोगमा आउन १२ देखि १८ महिनासम्म लाग्‍ने बताएकी छन् ।

उनले बीबीसीलाई भनिन्, “हामी अहिलेसम्मकै द्रुत गतिमा खोपको विकास गर्न लागिरहेका छौं । तर, महत्वपूर्ण कुरा के छ भने खोप सुरक्षित हुनुपर्छ र आमरुपमा प्रयोगमा आउनुअघि यसले पूर्णरुपमा काम गरेको र अन्य असरहरु गर्नु हुँदैन भन्‍नेमा विशेष सचेतता अपनाएका छौं ।”

“दुर्भाग्य खोप विकासका लागि केही समय लाग्छ । महामारीसँगै खोप विकासको काम पनि तीव्ररुपमा भइरहेको छ । जुन अहिलेसम्म यति तीव्ररुपमा अन्य रोगका खोपहरु विकास गरिएका थिएनन् । तर, हामीले कनै पनि चरण छुटाउनु हुँदैन,” उनले भनिन् ।

विश्वविद्यालयले क्षमता बढाउने काममा पनि ध्यान दिएको उनले बताइन् । उनले भनिन्, “ठूलो परिमाणमा खोप विकास गर्न क्षमता बढाउने काम भइरहेको छ ।” यसअघि अमेरिकामा पनि खोपको विकास गरेर मानव परीक्षण गरिएको थियो । तर, उक्त खोप आमरुपमा प्रयोगमा आइसकेको छैन ।

अहिले विभिन्‍न मुलुकका वैज्ञानिकहरु खोपको विकासमा जुटिरहेका छन् । यससँगै द्रुत गतिमा कोरोना परीक्षण किट बनाउने अभियानमा पनि लागिरहेका छन् । – बीबीसी