काठमाडौं कान्ति बाल अस्पतालमा तीन बालक आइसोलेसनमा

काठमाडौं, कान्ति बाल अस्पतालले तीन जना बालकलाई आइसोलेसनमा राखेर उपचार थालेको छ ।

अस्पतालका निर्देशक डाक्टर कृष्ण पौडेलका अनुसार आइतबार एक जना र सोमबार दुई जना गरी तीनजना बालकहरु अस्पतालको आइसोलेसनमा उपचारत छन् ।

आइतबार भर्ना भएका बालकको बुबा दुबईबाट स्वदेश फर्किएको र आज (आइतबार) भर्ना भएका दुई बालकमध्ये एकजनाको चाइनाबाट काका आएको र अर्को एक बालकको कतारबाट बुबा आएका थिए । बालकहरु उनीहरुसँग सम्पर्कमा रहेपछि बालकहरुमा कोरोनाको लक्षण देखिएको डा पौडेलले बताए ।

‘अहिले हाम्रो अस्पतालमा तीन जना बालकहरु आइसोलेसनमा छन्, उनीहरुका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको थियो,’ डा पौडेलले  भने, ‘ तीनजना मध्ये एकजनाको स्याम्पल हिजो नै प्रयोगशालामा पठाइएको छ, रिपोर्ट आइसकेको छैन, बाँकी दुईजनाको स्याम्पल आज पठाइएको छ ।’

अस्पतालले बालकहरुको बाबुहरुको अवस्थाबारे पनि जानकारी लिने प्रयास गरीहेको जनाएको छ । आइसोलेसनमा भर्ना भएका बालकहरुको उमेर समूह १४ महिना, ४ वर्ष र साढे ४ वर्ष रहेको छ । सरकारले कान्ति बाल अस्पताललाई स्याटेलाइट अस्पतालको रुपमा परिभाषित गरेको छ ।

सरकारले कोरोना उपचार तथा परीक्षणका लागि तोकिएको अस्पतालभित्र कान्ति अस्पताल छैन । तर अस्पतालले आफैले व्यवस्थापन गरेर आइसोलेसन वार्ड भने सञ्चालन गरेको छ ।