चीनमा ७० प्रतिशत कोरोना संक्रमित निको भए

इरानमा ७० हजार कैदी रिहा

बेइजिङ,विश्‍व स्वास्थ्य संगठन(डब्लूएचओ)का महानिर्देशक टेड्रोस एडानोम गेब्रेयससले चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएको जानकारी दिएका छन् । सोमबार नियमित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक गेब्रेयससले चीनमा ७० प्रतिशतभन्दा बढी व्यक्ति निको भएको र अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

विश्‍वभर फैलिएको संक्रमध्ये ९३ प्रतिशत चार देशमा मात्रै भएको बताउँदै रोकथामका लागि भाइरसप्रति दया नदेखाइ सबै एकजुट भएर लड्नुपर्ने उनले बताए ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि चीनको हुबेई प्रान्तस्थित वुहानमा बनाइएका १४ अस्थायी अस्पताल सोमबार बन्द गरिएका छन् । सहरमा भाइरस संक्रमितको संख्या घट्दै गएपछि ती अस्पताल बन्द गरिएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् ।

डिसेम्बर अन्तिमबाट कोभिड–१९ संक्रमण फैलन थालेपछि मध्यम खालका संक्रमितलाई उपचार गर्न र संक्रमणको स्रोतलाई आइसोलेसनमा राख्नका लागि वुहानमा प्रदर्शनी केन्द्र र जिमनासियम हलजस्ता १६ सार्वजनिक स्थललाई अस्थायी अस्पतालमा रूपान्तरण गरिएको थियो ।

सोमबार दिउँसो ३ बजे जियाघानस्थित अस्थायी अस्पताल बन्द गरिएसँगै अब वुहानमा दुइटा मात्रै त्यस्ता स्वास्थ्य संस्था सञ्चालनमा छन् । बाँकी रहेका दुई अस्पताल पनि मंगलबारसम्ममा बन्द गरिने कोभिड–१९ नियन्त्रण मुख्यालयले जनाएको छ । अस्थायी अस्पतालमा १२ हजार बिरामीलाई उपचार गरिएको थियो ।

कोभिड–१९ को उद्गमस्थल चीनमा संक्रमित र मृतक संख्या कम हुँदै गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान जनाएअनुसार पछिल्लो २४ घण्टामा देशैभर मात्र १९ जनामा कोरोना संक्रमण देखिएको छ भने मात्र १७ जनाको मृत्यु भएको छ । जनवरी २० बाट दैनिक रूपमा बिरामीको जानकारी दिन थालेयता यो सबैभन्दा कम संख्या भएको चिनियाँ अधिकारीले बताएका छन् ।

डिसेम्बर अन्तिममा पहिलो संक्रमण देखिएयता चीनमा एकै दिन १५ हजारसम्म संक्रमित पुष्टि थियो । चीनमा आइतबारै १ हजार ५ सय ३५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । एकै दिन ५ हजार १ सय ११ जनासम्म कोभिड–१९ का सिकिस्त बिरामी पाइएको चीनमा आइतबार मात्र १ सय ५३ जना त्यस्ता बिरामी पुष्टि भएको स्वास्थ्य आयोगले जनाएको छ ।

चीनमा हालसम्म ८० हजार ७ सय ५४ जनामा कोभिड–१९ पुष्टि भएकोमा ५९ हजार ९ सय ५ जना निको भएर घर गएका छन् भने १९ हजार १६ जना अस्पतालमा उपचाररत छन् । चीनमा कोभिड–१९ का कारण ३ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

संक्रमितको समीपमा आएका २० हजार १ सय ४६ जना अझै पनि मेडिकल अब्जरभेसनमा रहेको र आइतबारै तीमध्ये ३ हजार ८ सय २ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको आयोगले जनाएको छ । हालसम्म चीनबाहिरबाट आएका ६७ जनामा संक्रमण पुष्टि भएको उसले उल्लेख गरेको छ ।

इरानमा ७० हजार कैदी रिहा

इरानले ७० हजार कैदी जेलमुक्त गरेको छ । इरानी न्यायालय प्रमुख इब्राहिम राइसीले कोभिड–१९ संक्रमण थप नफैलियोस् भनेर कैदीबन्दी रिहा गरेको जानकारी दिए पनि विस्तृत विवरण भने दिएका छैनन् । उनले ती कैदी जेलमा कहिले फर्कन्छन् वा सधैंका लागि रिहा भएका हुन् भन्नेबारे पनि बोलेका छैनन् । ‘समाजमा सुरक्षा चुनौती नहुने अवस्थासम्म कैदी रिहा गरिने छ,’ इब्राहिमलाई उद्धृत गर्दै न्यायालको वेबसाइटमा उल्लेख छ ।

इरानमा कोभिड–१९ बाट सोमबारसम्ममा २ सय ३७ जनाको मृत्यु भएको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १ सय ६१ जना संक्रमित पुष्टि भएका छन् । चीनबाहिर कोभिड–१९ बाट मृत्यु हुने दर इरानमा धेरै छ । त्यसपछि दक्षिण कोरियामा संक्रमित धेरै छन् । एजेन्सी