८ मार्च र अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सवाल

८  मार्च, संघर्षको सम्झना गर्ने बिशषे दिन अर्थात महिलाहरूले संघर्षकाे बेलिबिस्तार लगाउने दिन सार्थक  प्रयासकाे महत्वपुर्ण दिन एउटा सार्थक  सपनाकाे दिन हो । विश्वका महिलाले मुक्तिका लागि मृत्युसंग जुधेकाे,जेहाद छेडेको दिन ८ मार्चलाई बिशेष ढंगले हेरिन्छ । सन् १९१० मा कोपेनहेगेनमा महिलाहरूको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनी माक्र्सवादी नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका रूपमा मनाउने प्रस्ताव राखिन् र त्यो प्रस्ताव पारित भएपछि सन् १९११ देखि विश्वभरिका महिलाहरूले ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाउन थालेका हुन् । नेपालमा भने यो दिवस विसं १९७५ देखि मनाइँदै आएको इतिहाँस छ ।

 ८ मार्च भन्ने बित्तिकै सामान ज्याला, समान अधिकार र मुक्तिका लागि उठेका लाखौँ करोडौँ महिला मुठ्ठीहरू सम्झनामा आउँछन् । कैयौं महिलाहरूको लागि ८ मार्चको महत्व त्यो दिन छुट्टी मनाउने भन्दा अर्को छैन । तर हामीले त्यो दिवसलाई महिला मुक्ति आन्दोलनसित जोडिएको महान दिवसको रूपमा लिएर मनाउनुपर्दछ । सन् १८५७ को ८ मार्चमा न्यूयोर्कका सहरका सुती कपडाका कारखानाका महिलाहरूले आफ्नो कम ज्याला र खराब अवस्थाका विरूद्ध प्रदर्शन गरेका थिए । मृत्यु र मुक्तिकाे कसम खाँदै सम्पुर्ण कुरा अर्पण गरेका थिए । राज्यकाे चरम दमनका बाबजुद पनि इतिहाँसकाे झन्डालाइ फराएर छाेडेका थिए । 

त्यसपछि अमेरिका र यूरोपमा महिला मुक्ति आन्दोलन विभिन्न रूपमा अगाडि बढ्दै गयो । खास गरेर महिलाहरूको समान अधिकारका लागि आवाज उठ्न थाल्यो । ती मुठ्ठी न्याय, समानता र मुक्तिको खातिर मृत्युलाई पनि सहर्ष स्वीकार गर्दै उठेका थिए । नेपालमा पनि त्यसको बृतान्त दशबर्षे जनयुद्धको चित्र हुन आउँछ । जनयुद्धमा महिलाहरुको सहभागिता र प्रत्यक्ष लडाईको मैदानमा होमिएको इतिहाँसले पनि महिला मुक्तिको सवाल ज्वलन्त बनेर आएको छ । कालिकाेटमा महिलाहरूकाे बिद्राेह हतियार कब्जा,नेतृ उमा भुजेलकाे नेतृत्वमा जेल ब्रेक यि जनयुद्भका महिलाहरूका जिउँदा इतिहाँस हुन । खासगरी नेपालमा जनयुद्भले नै महिलाहरूकाे चेतनामा केहि परिबर्तन ल्याएकाे कुरालाइ कसैले नकार्न मिल्दैन । 

यसमा महिलामात्रै सचेत भएर पुग्दैन, पुरूषलाई पनि सोहीअनुसार सचेत बनाइनुपर्छ । महिला र पुरूष एउटै रथका दुई पाङ्ग्रा हुन् भन्ने मान्यतालाई भुल्नु हुदैन

८  मार्च मनाउदै गर्दा  नेपालको सन्दर्भमा, नेपाली महिलाहरू अहिले पनि फरक ठाँउमा छन । राजनितिक लडाइमा महत्वपुर्ण उपस्थिति जनाएका महिलाहरू निति निमार्णकाे तहमा समेत पुगेका छन । र पनि अझै  जो गाउँ तथा सुदूर बस्तीहरूमा बस्छन्, सामाजिक आर्थिक रूपले पिछडिएकै छन् । यो दिवससँग आफ्नो खुसी साट्नु र अधिकारको लागि थप बल प्राप्त गर्नु त कहाँ हो कहाँ यो दिवसका बारे जानकार समेत छैनन् ।

यसोत मार्च ८ को ११० औँ शृङ्खलासम्मा पुग्दै गर्दा काठमाडौँका तारे होटलहरुमा एनजिओ र आइएनजिओहरुको कोठे र तिनै ग्रामिण इलाकाका महिलाहरूकाे तस्वीरे कार्यक्रम भब्य रुपमा हुने नै छन । उता भब्य कार्यक्रम माउदै गर्दा यता सडक पेटीहरुमा यसबारे नामै नसुनेका थुप्रै महिला पनि पक्कै भेटिने छन् । घाँस दाउरा चुलाे चाैकाेकाे भन्डार बनेका महिलाहरूलाइ याे ८  मार्चकाे बिषयले खासै छुन सक्ने अबस्था हुनेछैन । 

भने कर्णाली तथा सुदुरपश्चिमका छाउगोठमा बलात्कृत र हिंसामा परेको सङ्ख्यामा पनि कमी हुनेछैन । जाँडया श्रीमानका कारण निर्मम लात्तीहरू निरन्तर थापिरहेकै हुनेछन् र शरिरमा निलडामहरु गनिरहेकै हुनेछन् । हर अफिसहरुमा पुरुष सहककर्मीबाट महिला सहकर्मीमाथि गिद्देदृष्टिले निरन्तरता पाएकै हुनेछ । यो बर्षपनि पुरुषभन्दा महिला साक्षरता दर कम नै हुनेछ । 

राज्यले नै महिला र पुरूषले गर्ने श्रममाथि विभेद गर्दै आएको छ । पुरूष दैनिक आठ घन्टा काम गर्छन् भने महिलाको घरायसी श्रम १६ घन्टा बाँधिनुपर्ने अबस्था छ । हामीले ८ मार्चलाई प्रभावकारी बनउने हो भने मूलतः अवसरबाट वञ्चित महिलालाई विकास र अवसरको मूल धारमा ल्याउनुपर्छ ।

यति भनिरहदा हुनत हठात हठात यो क्रम टुङ्गिने छैन । किनकि यो जादुको छडीले छु मन्तर गरेर गर्ने काम पनि त होइन । तर आम अपेक्षा साेचेभन्दा अधिक छ । ८ मार्च ती अपेक्षसँग निरिह छ । याे सबैकाे सराेकारकाे बिषय हाे ।  ‘सरकार र एनजीओले केवल औपचारिक कार्यक्रम गर्दै भत्ता पचाउँछन् तर देखिने गरी कुनै काम पनि गर्दैनन् ।’ गरेको परिणाम पनि कतै पाइएको छैन । मुख्यतयाः सरकार अथबा सरोकारवाला एनजिओहरु परिणाममुखि हुनुपर्छ भन्ने नै हो ।

अब आम रूपमा यो दिवसप्रति चासो जगाउँदै सरकार र एनजीओको पञ्जाबाट माथि पुर्याउनुपर्छ ८ मार्चलाई । कर्णाली र सुदूरपश्चिमका दुर्गम बस्तीसम्मा पनि सजिलै यसकाे महत्व पुग्नुपर्छ । परिणाममा अर्को वर्ष धेरै केही नभए पनि थोरबहुत जनचेतामा बदली पक्कै आवस अनिमात्र यस्ता दिवसहरुले सार्थकता पाउने छन । मलाई लाग्छ ८ मार्च केवल तारिकको ८ मार्च मात्रै नबनोस् । नेपालको सन्दर्भमा विभेद अन्त्यका लागि छोराछोरीलाई समान शिक्षा, समान अवसर रूपमा परिणत हाेस  ।

अन्ततः महिला अधिकारका लागि चेतना नै महत्वपूर्ण विषय हो । यसमा महिलामात्रै सचेत भएर पुग्दैन, पुरूषलाई पनि सोहीअनुसार सचेत बनाइनुपर्छ । महिला र पुरूष एउटै रथका दुई पाङ्ग्रा हुन् भन्ने मान्यतालाई भुल्नु हुदैन ।