छैठौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधी नेपाल प्रहरीको कब्जामा

नेपालगन्ज, बाँके,नेपालगंजमा जारी छैठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधी नेपाल प्रहरीले जितेको छ ।  बुधबार नेपालगन्ज रंगशालास्थित कबर्डहलमा सम्पन्न फाईनलमा एपिएफलाई २५(१६,२५(१७ र २५(१८ को तीन सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो ।

उपाधीसंगै प्रहरीले नगद २ लाख र उपबिजेता एपिएफले १ लाख नगद प्राप्त गरेका छन भने तेस्रो हुने नेपाली सेनाले न्यु डायमण्डलाई पराजित गर्दै ५० हजार नगद प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा नेपाल प्रहरीकी उषा भण्डारी घोषित भईन ।

त्यस्तै बेस्ट ब्लकरमा सेना कि संगम महतो, बेस्ट सेटरमा प्रहरीकी कमला पुन, बेस्ट सर्भर प्रहरीकै मनिषा चौधरी, बेस्ट लिबरोमा न्यु डायमण्डकी सलिना श्रेष्ठ, बेस्ट प्रशिक्षकमा प्रहरीका रुपेश बिस्ट र बेस्ट स्पाईकरमा एपिएफकी निरुता ठगुन्ना घोषित भए ।

बिजयी खेलाडीहरुलाई राखेपका सद्स्य सचिव रमेश सिलवाल, प्रदेशसभा सदस्य कृष्णा केसी (नमुना) नेपालगंजका मेयर डां धवल शमशेर राणालगायतले पुरस्कार, प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरेका थिए । बांके जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता संचालन भएको हो ।