नेकपाको सचिवालय बैठक बस्दै, यस्ता छन एजेण्डा

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय शनिबार अपराह्न बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको सचिवालय बैठकको मूख्य एजेण्डाका रुपमा अमेरिकी परियोजना (एमसिसी) माथि छलफल हुने बताइएको छ।
 झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले एमसिससीसम्बन्धी सम्झौताका केही बुँदाहरु संशोधन नगरी पारित गर्न नहुने सुझाव सहितको प्रतिवेदन शुक्रबार बुझाइसकेको छ। पार्टीभित्र तीव्र विवादको विषय बनेको एमसिसीबारे शनिबारको सचिवालय बैठकले निर्णय लिने सम्भावना भने कम छ। दुई अध्यक्षले खनाल कार्यदलको प्रतिवेदन अध्ययन गरी नसकेकाले ठोस निर्णय नलिए पनि यसबारेमा छलफल भने हुने छ।
 
एमसिसीबारेको विवद निरुपणका लागि माघ १५-१९ मा बसेको नेकपा केन्द्रीय कमिटी बैठकले खनाल, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल बनाएको थियो।अध्ययन कार्यदलले २० दिनपछि शुक्रबार प्रतिवेदन बुझाइसकेको छ। एमसिसी संशोधनबिना पास गर्न नहुने सुझावसहित कार्यदललले प्रतिवेदन दिएको छ। कार्यदलले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएको थियो। अध्ययन कार्यदलले प्रतिवेदन बुझाएपछि नेकपाको सचिवालय बैठक बस्न लागेको हो।
 
गत मंसिरमा बसेको नेकपाको स्थायी कमिटीको बैठकमा एमसिसीबारे चर्को विवाद भएपछि सचिवालयलाई जिम्मा दिइएको थियो। तर सचिवालयमा पनि एमसिसीले प्रवेश पाउन सकेको थिएन। केन्द्रीय कमिटीको बैठकमा एमसिसीले प्रवेश पाएपछि कार्यदल गठन गरिएको थियो। कार्यदलले प्रतिवेदन बुझाएको भोलिपल्ट अध्यक्ष दाहालले चितवनमा बोल्दै एमसिसी संशोधनसहित पास हुने बताएका छन्। एमसिसी संशोधनको पक्षमा प्रधानमन्त्री ओली सकारात्मक भएकोसमेत उनले जनाए। यसअघि प्रधानमन्त्री ओली एमसिसी संशोधनबिना नै पास गर्ने पक्षमा थिए।
 
यस्तै, सचिवालयको बैठकमा निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बिषयमा पनि छलफल हुने बताइएको छ। ७० करोड कमिसन मागेको अडियो बाहिरिएपछि प्रधानमन्त्री ओलीकै निर्देशनमा बाँस्कोटाले राजीनामा दिएका थिए। बैठकमा नेकपाको एकता प्रक्रिया टुंगोमा पुर्‍याउने बिषयमा छलफल हुने बताइएको छ।