शिवरात्रिका दिन पशुपतिमा सजाइएका फूल रातारात गायब भएपछि

काठमाडौं , महाशिवरात्रिलाई विशेष बनाउन लाखौं रकम खर्चिएर सजाइएको पशुपतिनाथको मन्दिरका फूल रातारात गायब भएको छ ।

बाँदरबाट समेत जोगिएका फूल रातारात गायब भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी चिन्तित भएका छन । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालका अनुसार पशुपतिनाथलाई फूलैफूलले सजाउन करिव दुई करोड रुपैयाँ खर्चिएको थियो ।

कोषका सदस्य सचिव ढकालले भने ‘बाँदर पुग्ने ठाउँका फूल सुरक्षित छन् तर धर्मका लागि मन्दिर पुगेका मानिस देखादेखि फूल बोकेर जान्छन् । मन्दिर पुगेर घर फर्किने उनिहरुको संस्कार कस्तो ।’ सजावटका लागि ल्याइएका फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारत लगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो ।

फूल हाक्काहाक्की मानिसहरुले बोकेर हिडेपनि नियन्त्रण गर्न नसकिएको सदस्य सचिव ढकालले बताएका छन् । ‘धर्म कमाउन आएका मानिसहरु नै मन्दिरको सामान बोकेर हिँडेपछि सामान खोज्न के प्रहरी लगाउँनु, यो त संस्कारको पनि कुरा भयो नी ‘ सदस्य सचिव ढकालले भने ।