विप्लव नेकपाका म्यादी जिल्ला जनपरिषद् प्रमुख पक्राउ

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकाे म्यादी जिल्लाका जनपरिषद् प्रमुख पक्राउ परेका छन् । प्रहरीले शुक्रबार राती जगत भनिने जगेन्द्रबहादुर पुनलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दरभाङ्गबाट प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले मालिका गाउँपालिका–३, आदिवाराबाट उनलाई पक्राउ गरेको छ ।

पुन विभिन्न किसिमका अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले एनसेल टावरमा आगजनी गर्नेदेखि जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग चन्दा माग्ने र धम्काउने गर्दै आएका थिए ।

व्यवसायीहरुलाई समेत उनले धम्काउने गरेको उजुरी प्रहरीमा परेको थियो । उनले गरेका थप अपराधबारे अनुसन्धान भइरहेको म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरणजंग कुँवरले बताए । पुनलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको छ ।