जन्मदिनको अवसर पारेर प्रधानमन्त्री ओलीको किताब सार्वजनिक

‘भिजन टु एक्सन’ आयो बजारमा

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । आफ्नो ६९ औं जन्मदिनको अवसर पारेर ओलीले पुस्तक ल्याएका हुन्, जसलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन् ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको दुई सय ४० पृष्ठको उक्त किताबमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोणहरू समावेश गरेका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त किताब विमोचन कार्यक्रममा प्रधानमन्त्रीका बुवा पनि उपस्थित थिए।

किताब सार्वजनिक समारोहमा प्रधानमन्त्री ओलीले कृषिजन्य उत्पादन बृद्धिका लागि सरकारले काम गरिरहेको बताए। ‘केमिकलजन्य झोलले मान्छे र देशको अर्थतन्त्र नै बिगार्ने गरेको छ, त्यस्तो कामलाई अहिले हतोत्साहित गरिएको छ,’ उनले भने।

काम गर्न सक्ने युवा शक्ति देशमा भएको भन्दै प्रधानमन्त्री ओलीले दृष्टिकोण र प्रभावकारी ढंगले काम गर्नुपर्ने आवश्यकता भने चाहिएको बताए। ‘दुई ढुंगाबीचमा हामी छौं भने फैलिन नपाउँला तर यसलाई समृद्ध बनाए पुग्छ,’ प्रधानमन्त्री ओलीले भने।

छिमेकी देशसँग संतुलन राखिएको उनले बताए। ‘सूर्य, पृथ्वी र चन्द्रमा संतुलनमै घुमिरहेको छ,’ उनले भने, ‘दुनियाँ संतुलनका साथ चलिरहेको छ। दुई छिमेकीसँग संतुलन सम्बन्ध राख्छौं।’