किन लेखे बिल गेट्सलाई चिनियाँ राष्ट्रपतिले पत्र

चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भनी धन्यवाद दिँदै विश्वकै सर्वाधिक धनी मध्येका एक बिल गेट्सलाई पत्र लेखेका छन् ।

कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो ।

पत्रमा राष्ट्रपति सीले लेखेका छन्, ‘तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु, अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनु भएको सहानुभूति र ऐक्यबद्धता प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’

उनले चीन अहिले महामारी विरुद्ध लडिरहेकाले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गरेको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

महामारी नियन्त्रणका लागि अन्तर्रा्ष्ट्रिय दायित्व अनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए ।

कोविड–१९ नाम दिइएको यस महामारीका कारण अहिलेसम्म २ हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन् । यसको सङ्क्रमण विश्वका २५ देशमा देखिएको छ ।