अफगानिस्तानमा युद्धबिराम

काठमाण्डाै, अफगानिस्तानमा १८ वर्षभन्दा बढी समयदेखि जारी सशस्त्र द्वन्द्व अन्त्यको संकेत देखिएको छ । किनभने अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान लडाकुबीच यही फेब्रुअरी २९ तारिखमा शान्ति सम्झौता गर्ने तयारी भइरहेको छ ।

त्यसअघि शनिबारदेखि एक हप्तासम्म तालिवान, अमेरिका र अफगानी सरकारी सुरक्षा बलले आक्रमण नगर्ने सहमति गरिसकेका छन् । यो एक हप्ताको बीचमा देखिने घटनाक्रमको आधारमा औपचारिक रुपमा शान्ति सम्झौता गरेर द्वन्द्व अन्त्य गर्ने सहमति भएको अफगानिस्तानको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जावेद फैसलले बताएका छन् ।

अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि लामो समयदेखि अमेरिकाले पहल गर्दै आएको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले पनि साउदी अरबको भ्रमणपछि शुक्रबार भनेका छन्, ‘अफगानिस्तानको हिंसा घटाउने सहमतिलाई सफल कार्यान्वयन गरिएसँगै अमेरिका–तालिवानी सम्झौतामा हस्ताक्षर गर्ने काम अघि बढ्ने अपेक्षा गरिएको छ ।’ पोम्पेओले भने, ‘चुनौती अझै बाँकी छ, तर हालसम्म भएको प्रगतिले आशा प्रदान गर्दछ र वास्तविक अवसरको प्रतिनिधित्व गर्दछ ।

अमेरिकाले सबै अफगानी नागरिकलाई यस क्षणको उपयोग गर्न आग्रह गर्दछ ।’ यसैबीच उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोलटेनवर्गले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिका–तालिवान सहमतिको स्वागत गरेका छन् ।

उनले सहमतिले अफगानिस्तानको दीर्घकालीन शान्तिको सम्भावित मार्गलाई खुला गरेको उल्लेख गरेका छन् । ‘अफगानिस्तानमा हिंसामा उल्लेखनीय कटौतीको बारेमा समझदारी भएकोमा म स्वागत गर्दछु,’ स्टोल्टनवर्गले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यो हिंसा घटाउने तालिवानको इच्छाशक्ति र क्षमताको परीक्षा हो र यसले शान्तिका लागि विश्वासको योगदान गर्नेछ ।

यसले अफगानीहरूबीच वार्तालाप, दिगो शान्ति र मुलुकलाई फेरि आतंककारीका लागि सुरक्षित ठाउँ नहुने कुरा सुनिश्चित गर्न सक्नेछ ।’ अफगानिस्तानमा नेटोको १६ हजार सैनिक छन् जसले स्थानीय सेनाहरुलाई प्रशिक्षण, सहयोग र सल्लाह दिने गरेको छ ।

अमेरिका–तालिवानबारे नयाँ सहमतिलाई रूसले पनि स्वागत गरेको छ । उसले यो ऐतिहासिक सम्झौता अफगानिस्तानको शान्तिको लागि ‘महत्वपूर्ण घटना’ हुने बताएको छ ।

मस्कोका अफगानिस्तानका राजदूत जमीर काबुलोभले राज्य सञ्चालित समाचार संस्था आरआईए नोवोस्तीसँग कुरा गर्दै यदि सम्झौता समारोहमा आफूलाई आमन्त्रण गरिएमा त्यहाँ सहभागी हुने बताएका छन् । यो अफगानिस्तानमा शान्ति प्रक्रियाको लागि महत्वपूर्ण घटना हुने उनको धारणा थियो ।