यथास्थितिमा एमसीसी अनुमाेदन नगर्न कार्यदलको नेतृत्वलाई सुझाव

काठमाण्डाै। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न बनाएको कार्यदलले शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई बुझाइएको प्रतिवेदनमा यथास्थितिमा एमसीसी संसदबाट पारित गर्न नहुने सुझाव दिइएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सुझावसहितको प्रतिवेदन बुझाएको कार्यदल सदस्य भीम रावलले जानकारी दिए। कार्यदलको सुझावमा एमसीसीमा समेटिएका केही बुँदाहरु संशोधन गरेरमात्रै अनुमोदन गर्नुपर्ने उल्लेख छ।

शुक्रबार बसेको कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाइएको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठकले एमसीसीबारे अध्ययन गर्न सचिवालय सदस्य झलनाथ खनाल र स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली रहेको समिति गठन गरेको थियो ।

सरकार र एमसीसीबीच भएको सम्झौता र इण्डो प्यासिफिकका सम्बन्धमा आवश्यक तथ्यहरुको विस्तृत अध्ययन गरिएको कार्यदल सदस्य भीम रावलले जानकारी दिए । नेकपालाई यथास्थितिमा एमसीसी अनुमाेदन नगर्न कार्यदलको सुझाव दिएकाे छ ।

कार्यदललाई १० दिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको थियो। तर, कार्यदलले तोकिएको समयमा प्रतिवेदन बुझाउन नसकेपछि थप १० दिनको समय पाएको थियो।कार्यदलले प्रतिवेदन बुझाएपछि अब एमसीसीका सम्बन्धमा नेकपाले थप निर्णय गर्नेछ।