गुणात्मक शिक्षाको लागि शिक्षकमा निर्भर रहन्छ : मन्त्री पोखरेल

काभ्रे, काभ्रेपलाञ्चोक ‘साक्षर’ जिल्ला घोषणा भएको छ। जिल्लाका ६ नगरपालिका र ७ वटा गाउँपालिकाले साक्षरता घोषणा गरेपछि जिल्ला समन्वय समिति, काभ्रेका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समितिले शिफारिशग गरेसँगै ‘साक्षर’ जिल्ला घोषणा गरेको हो।

मापदण्ड पूरा भएकोले काभ्रेलाई साक्षर जिल्ला घोषणा गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पोखरेल समक्ष प्रस्ताव गरिएको थियो। शिक्षा मन्त्री पोखरेलले हस्ताक्षर गरेसँगै जिल्ला साक्षर घोषण भएको हो। यसअघि मुलुकका ५१ जिल्ला साक्षर घोषणा गरिसकिएका छन्। बुधबार साक्षरता घोषणा कार्यक्रममा मन्त्री पोखरेलले तीन घण्टाको परीक्षा लिएर सक्षम भयो भनेर प्रमाणपत्र दिने पद्धति थोत्रो भएको बताए।

उनले यसले वास्ताविक सक्षमता भएका व्यक्ति पहिचान गर्न नसकेको बताए। ‘शिक्षालाई विकास पूर्वधारको पनि पूर्वधार मानिन्छ। अब शिक्षा गुणात्मक छ कि छैन भन्ने कुरा शिक्षकमा गुणात्मकता छ कि छैन भन्ने कुराले निर्धारण गर्दछ। गुणात्मक शिक्षा अब शिक्षकमा निर्भर रहेको छ’ मन्त्री पोखरेलले थपे,’ बालबालिकालाई प्राविधिक शिक्षा अनिवार्य गर्नुपर्छ।

अब प्राविधिक शिक्षा दिन सकेन भने उनीहरूलाई न्याय हुँदैन। सरकार आगामी दुई वर्षभित्र मुलुकलाई साक्षार घोषणा गर्ने तयारीमा रहेको छ।’ साक्षरता अभियान जिल्ला समन्वय समिति काभ्रेका संयोजक उद्धव केसीले जिल्लाका १५ देखि ६० उमेर समूहका ९६.४८ प्रतिशत जनसंख्या साक्षार भएका बताए।

‘साक्षार भएकामध्ये एक लाख ९६ हजार १७४ जना पुरुष र एक लाख ७७ हजार ५५४ जना महिला साक्षर रहेको छ,’ उनले भने, ‘जिल्लाका १३ वटै स्थानीय तहले पुर्ण साक्षर बनाउन छुट निरक्षर जनसंख्यालाई आगामी दिनमा साक्षर गराउने प्रतिबद्धतासहित साक्षर जिल्ला घोषणा गरेका हुन्।

’ त्यस्तै जनगणनाअनुसार तत्कालीन अवस्थामा दुई लाख ९२ हजार १७९ जनसंख्या साक्षर रहेको र त्यसपछिको वर्षमा निरक्षर जनसंख्याका लागि सञ्चालन भएको सघन साक्षरता कार्यक्रमबाट आर्थिक वर्ष २०७६/०७७ सम्म तीनलाख ६० हजार ५६० जनसंख्या साक्षर भएको संयोजक केसीले जानकारी दिए। विसं २०६८ को जनगणनाअनुसार जिल्लामा तीन लाख ७३ हजार ७२८ जनसंख्या रहेको छ।

पन्ध्रदेखि साठी वर्ष उमेर समूहका जनसंख्या ९५ प्रतिशतभन्दा माथि रहेको सन्दर्भमा साक्षर जिल्ला घोषण गर्न सकिने अन्तर्राष्ट्रिय मान्यता एवं नेपालको प्रचलित कानुन बमोजिम जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएका हुन्। मण्डन देउपुर नगरपालिकाले १३ पुस २०७५ मा ‘साक्षर नगर’ घोषणा गरेसँगै शुरु भएको साक्षर घोषणा अभियान गत बिहीबार चौँरीदेउराली गाउँपालिकाले १ फागुन २०६७ मा साक्षर गाउँपालिका घोषणा गरेपछि जिल्लाका सबै स्थानीय तहमा साक्षर घोषणा भएको थियो।

साक्षरता घोषणा कार्यक्रममा संघीय सांसद गंगाबहादुर दोङ, प्रदेश सभा सदस्यहरू बसुन्धारा हुमागाई, रत्न ढकाल, चन्द्र लामा, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखलगायतका उपस्थित रहेको थियो।

कुन स्थानीय तहमा कति प्रतिशात साक्षरता समितिको तथ्यांक अनुसार जिल्लाको मण्डन देउपुर नपाका ९५.२७, धुलिखेलका ९८.०७, बनेपा नपाका ९७.०७, पनौती नपाका ९५.०५, नमोबुद्ध नपाका ९६.४० र पाँचखाल नपाका ९८.९८ प्रतिशत जनसंख्या साक्षार रहेका छन्। त्यस्तै खानीखोला गाउँपालिकाका ९६.७१, महाभारत गापाका ९७.९८, रोशी गापाका ९८.९८ तेमाल गापाका ९५.९७, भुम्लु गापाका ९५.०५, बेथानचोक गापाका ९५.८१ र चौँरीदेउराली गापाका ९६.८३ प्रतिशत जनसंख्या साक्षर भएको समितिले जनाएको छ।

साक्षरताको थालनी विभिन्न दस्तावेजमा जनाइएअनुसार नेपालमा विसं २००४ मा आधार शिक्षाको थालनीसँगै साक्षरता शिक्षाको औपचारिक प्रारम्भ भएको थियो। विसं २००८ पछि भने आम जनसंख्यालाई साक्षर बनाउने अभियानको थालनी गरेको देखिन्छ।