बालबच्चाका लागि दौतरी बन्ने कि ?

तपाईंका कति बालबच्चा छन् ? अहिले धेरैजसो दम्पतीबाट आउने जवाफ हो, एक जना । किन ? यो प्रश्नको उनीहरुसँग तयारी जवाफ छ । उनीहरुले भन्नेछन्, ‘यस्तो महंगीमा धेरै बच्चा कसरी हुर्काउने ?’

बच्चाको खानपान, लुगाफाटो, औषधि-उपचार, शिक्षादीक्षा आदिले अभिभावकको खल्ती बोझिलो बनाइदिएको छ । अहिले यसैपनि महंगीले आकास छोएको छ । लालनपालनका लागि सानोतिनो खर्चले पुग्दैन । बालबच्चालाई पठनपाठन गराउनै पर्‍यो । पढाउनका लागि पनि कम खर्चले धान्दैन । चाडपवर्छ, घुमफिर, खेलकुद जस्ता अतिरिक्त खर्चले पनि बच्चा हुर्काउने काम असहज बनेको छ, धेरै दम्पतीका लागि ।

घरायसी व्यायभार बढेकै कारण श्रीमान् र श्रीमती दुबै आयआर्जनमा लाग्नु परेको छ । यस्तो अवस्थामा एक्लो बच्चा अरु एक्लिएका छन् । न उनीहरुसँग खेल्ने साथी छन्, न त आफ्नै दाजुबहिनी ।

यसरी एक्लिदै गएका बालबच्चाका लागि अभिभावकले अब दोहोरो भूमिका खेल्नुपर्नेछ । पहिलो त, सही अभिभावकत्व । दोस्रो चाहिँ मित्रवत् सम्बन्ध । अर्थात बालबच्चाका लागि अभिभावक मात्र बनेर पुग्दैन, उनीहरुको साथी पनि बन्नुपर्नेछ ।

साथी बन्नका लागि तपाईंले आफ्नो आनीबानी त्याग्नु पर्नेछ । बच्चाको साथी बन्न तपाईंले बच्चालाई आफुजस्तै परिपक्क बनाएर हुँदैन । बरु, तपाईं पनि बच्चा जस्तै हुनुपर्छ । बच्चाका लागि तपाईं पनि बच्चा बन्नुपर्छ ।

यदि तपाईं सधै अभिभावकको भूमिकामा रहनुभयो भने तपाईंका बच्चामा केही प्रवृत्तिगत एवं स्वभावजन्य समस्या देखापर्न थाल्छ । उनीहरु एक्लै बस्ने, एक्लै रमाउने, एक्लै खेल्ने कुरामा अभ्यस्त हुन बाध्य हुन्छन् । सानो उमेरमा त यो स्वभावप्रति तपाईंको कुनै ध्यान जादैन । तर, उनीहरु हुर्कदै जान्छन् र अनेक किसिमले समाजसँग जोडिदै जान्छन्, त्यसबेला तपाईंको बच्चा ‘कागको बथानमा बकुल्ला’ हुनपुग्छ ।

त्यसैले आज तपाईं बच्चाका लागि अभिभावक मात्र होइन, साथी बन्नुपर्छ । दौतरी बन्नुपर्छ । हितैषी बन्नुपर्छ । एकअर्कासँग खेल्दै, छिल्लिदै, प्रतिस्पर्धा गर्दै, नोकझोंक गर्दै बस्नुपर्छ ।

जब बच्चा विद्यालयबाट घर र्फकन्छन्, तपाईंले उसलाई कुनै कुरा आदेश दिने/अह्राउने होइन । बरु आफु पनि उसको काममा सहभागी हुनुपर्छ । खेल्छ भने तपाईं पनि खेल्नुपर्छ । बच्चाा मोवाइल वा घरभित्रको मात्र खेल खेल्छन् । तपाई पनि उनीसँग सहभागी भएर बाहिर खेल्न जानुपर्छ । टेलिभिजन हेर्दा तपाईं पनि साथमै हेर्नुपर्छ । टेलिभिजनमा बच्चालाई मनपर्ने कार्यक्रम मात्र होइन, तपाईलाई मनपर्ने कार्यक्रम पनि मिलिजुली हेर्नुपर्छ । खाजा खाएको बेला होस् वा होमवर्क गरेको बेला, तपाईंको उपस्थिती, सहयोग र हस्तक्षेप सबै कुरा आवश्यक हुन्छ ।