‘आशिकी-२’ बाट चोरिएकै हो त ‘म यस्तो गीत गाउँछु-२ ?

काठमाडौँ , फिल्म ‘म यस्तो गीत गाउँछु २’को टिम यतिखेर विवादमा तानिएको छ । बिहीबार निर्माण युनिटले सार्वजनिक गरेको ट्रेलर बलिउड फिल्म ‘आशिकी-२’बाट चोरिएको भन्दै धेरैले आलोचना गरेका छन् ।

युट्युबमा कतिले त ‘आशिकी-२’को नेपाली भर्सन भन्दै कमेन्टसमेत गरेका छन्। ‘ट्रेलर त आशिकी-२ र अ स्टार इज बनको संयोजन जस्तो लाग्यो’ एक दर्शकले ट्रेलरको कमेन्टमा लेखेका छन्। ३ हजार बढी कमेन्टमा अधिकांशले फिल्मको ट्रेलर नै चोरिएको भन्दै चर्को आलोचना गरेका छन्। निर्देशक सुदर्शन भने यी दुई फिल्मसँग आफ्नो फिल्मको ५ प्रतिशत पनि नमिल्ने बताउँछन्।

‘केही समूह पछाडि लागेका छन्। फिल्म नै नहेरीकन जे पायो त्यही बोल्नु भनेको त समूह लाग्नु नै हो। यसले मलाई केही फरक पार्दैन। मेरो फिल्मती फिल्मसँग ५ प्रतिशत पनि मिल्दैन,’ उनले फोन संवादमा भने,’म्युजिकल फिल्म भन्ने बित्तिकै आशिकी–२ हुन्छ ?’

तर सुदर्शनलाई चोरीको आरोप लाग्नु नयाँ होइन। उनको डेब्यू फिल्म ‘मेरो एउटा साथी छ’ कोरियन फिल्म ‘मिलिनियर्स फस्ट लभ’को हुबहु कपी थियो भने पछिल्लो फिल्म ‘रामकहानी’ थाई फिल्म ‘पीमक’सँग मिलेको थियो।