भारतको उत्तर प्रदेशमा दुर्घटना हुँदा १३ जनाको मृत्यु

लखनउ, भारतको उत्तर प्रदेश राज्यमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको आगरा–लखनउ द्रुतमार्ग अन्तर्गत फिरोजावाद शहरनजिक यात्रुबाहक बस र मालवाहक एक आपसमा ठोक्किएका थिए ।

बुधबार राति १० बजेतिर भएको दुर्घटनामा अरु ३१ जना घाइते भएका छन् । राजधानी दिल्लीबाट बिहार राज्यको मोतिहारीका लागि गइरहेको निजी डबल डेकर बस सोही दिशातर्फ गइरहेको कन्टेनर ट्रकसँग ठोक्किएको उत्तर प्रदेश प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले स्थानीय अधिकारीलाई घटनास्थलमा पुगी जाँचबुझ गर्न तथा घाइतेहरुको उचित उपचार गर्न समेत निर्देशन दिएका छन् ।