कुवेतको ढुङ्गाखानीमा विष्फोट, चार नेपालीको मृत्यु, धेरै हताहत भएको आशंका

काठमाडौं, कुवेतको एक ढुङ्गाखानीमा विष्फोट हुँदा चार नेपाली श्रमिकको ज्यान गएको छ । विष्फोटपछि खानीमा परिंदा उनीहरुको ज्यान गएको हो । घटनामा अन्य धेरै नेपाली श्रमिक हताहत भएको आशंका गरिएको छ । कुवेतस्थित अलमुतलायामा रहेको ढुङ्गा, बालुवा खानीमा बम विष्फोट गराई ढुङ्गा फुटाउने क्रममा धेरै श्रमिक पुरिएको अरब टाइम्सले उल्लेख गरेको छ ।

घटनास्थलबाट ६ जनाको शव निकालिएको छ । उनीहरुको नाम सार्वजनिक भएको छैन । समाचारमा जनाइए अनुसार शव प्राप्त भएकामध्ये चार जना नेपाली श्रमिक छन् । १३ नेपाली र एक भारतीय नागरिक दुर्घटनामा परेको आशंका छ । तीन जना घाइते भएका छन् । घाइतेको स्थानीय जहान अस्पतालमा उपचार भइरहेको छ । खाडलमा चिनियाँ कामदार पनि काम गरिरहेको जनाइएको छ ।

उनीहरु ढुङ्गा र बालुवाको थुप्रोमा पुरिएको जनाइएको छ । श्रमिकहरु खाडलमै भएका बेला ढुङ्गा फुटाउन बम बिष्फोट गरिएको अरब टाइम्सले खबर छापेको छ । स्थानीय सुरक्षाकर्मीले दुर्घटनामा परेका कामदारको यकिन संख्या सार्वजनिक गरेको छैन । घटनास्थलमा सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।

कुवेतका सार्वजनिक निर्माण तथा आवास मामिला राज्यमन्त्री डा. राणा अल फरिसले घटनाको छानबिन गर्न आदेश दिइसकेको जनाइएको छ । एजेन्सी