पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग

विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आएका थिए ।

एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा (पदमार्ग) मार्फत भकुण्डे पुगे । जिल्लालाई भ्रमणको पहिलो रोजाइ बनाएका भेगनका पर्यटक त्यहाँ पुग्दा केही कमी भएको अनुभव गरेको प्रतिक्रिया दिए । पहिलेको ढुङ्गे (परम्परागत) पदमार्ग सडक विस्तारका क्रममा भत्काइएपछि अहिले पक्की (कङ्क्रिट) पदमार्ग निर्माण थालिएको छ । पर्यटन व्यवसायी महादेव शर्माले पर्यटकले पक्की पदमार्ग नरुचाउने बताए ।

उनले भने “विश्व भेगन समूहलाई बागलुङमा टे«किङ गराई पर्यटनको विकास गर्न एक वर्षपहिला सम्भाव्यता अध्ययन गरेका थियौँ । अध्ययनका क्रममा पहिलेका ढुङ्गे पदमार्ग मासेर ढलान गरेर पदमार्ग बनाएको पाइयो, पक्की पदमार्ग खर्चिलोमात्र होइन पर्यटकले समेत रुचाउँदैनन् ।” अन्नपूर्ण बेस क्याम्प पुग्ने पदमार्ग नयाँ मोटरबाटो निर्माणका कारण छोटो भएपछि त्यहाँ आउने पर्यटकलाई यहाँ ल्याउन थालिएको उनले जानकारी दिए ।

यहाँ पदयात्रा व्यवसायको सम्भावना भए पनि पुरानाको संरक्षण र नयाँ पदमार्गको पहिचान र निर्माण गर्नुपर्न व्यवसायी शर्माको जोड रहेको छ । बिना योजना खनिने ग्रामीण सडकका कारण पुराना पदमार्ग हराउने अवस्थामा पुगेको भन्दै पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । परम्परागतभन्दा पक्की पदमार्ग खर्चिलो हुने, कम आकर्षण हुने र पदयात्रा गर्दा छिटो थाक्ने ट्रेकिङ व्यवसायी बताउँछन् । जिल्लामा सञ्चालित २८ वटा घरवासले समेत पूर्वाधार निर्माणअन्तर्गत धमाधम पदमार्ग निर्माण थालेका छन् । यसमा पनि पक्की ढलान सहितका बढी छन् ।

चर्चित पदमार्गका रुपमा रहेको अन्नपूर्ण आधार शिविर पुग्ने मार्ग सडकका कारण छोटिँदै गएपछि ट्रेकिङ व्यवसायी बिस्तारै बागलुङ, म्याग्दी तथा मुस्ताङतर्फ आकर्षित हुन थालेका छन् । जिल्लामा सबैभन्दा लामो पञ्चकोट हुँदै ढोरपाटन पुग्ने धौलागिरि चक्रीय पदमार्गको समेत पहिचान गरिएको छ । उक्त मार्गलाई अग्र्यानिक पदमार्गका रुपमा विकास गर्न सकिएमा यहाँ टे«किङ व्यवसायको राम्रो सम्भावना देखिन्छ ।

विश्व भेगन अर्गनाइजेशनसँग बागलुङ नगरपालिकाले संस्थागत रुपमा पर्यटक भित्र्याउन सहकार्य थालनि गरेको छ । उक्त समूहले अधिकांश क्षेत्रमध्ये बागलुङलाई पहिलो रोजाइमा पारेको भेगनले जनाएको छ । यहाँका पर्यटकीयस्थल ढोरपाटन, घुम्टेको धुरी, गाजाको दह, सर्वसिद्धिधाम पञ्चकोट पुग्ने पदमार्ग बिस्तारै नासिँदै गएको बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले जानकारी दिनुभयो । अहिले घुम्टे पुग्ने परम्परागत पदमार्ग मासेर ढलानको पदमार्ग बनाउन लागिएको छ । हाल चार किलोमिटरभन्दा बढी ढुङ्गे पदमार्ग रहेको घुम्टेमा धमाधम डेढ किलोमिटर सिमेन्टेड पदमार्ग निर्माण थालिएको हो ।

यसैगरी शिवधुरी सामुदायिक घरवास र तङ्ग्रामको फापरखेत सामुदायिक घरवास पुग्ने मार्गसमेत ढलान गरिएको छ । हाल यहाँको काठेखोला गाउँपालिकाको बिहुँ घोडाबाँधेदेखि लेखानी हुँदै गाजादह पुग्ने तथा रेसदेखि सत्यवती हुँदै गाजादह आउने मार्ग निर्माणले तीव्रता पाएको छ । पर्यटन मन्त्रालयको रु ४५ लाखको लागतमा मदन भण्डारी मार्ग निर्माण भइरहेको छ । निर्माण हुने मार्गमा सिमेन्टको प्रयोग नगरी ढुङ्गा छापेर परम्परागत शैलीमा निर्माण भइरहेको काठेखोला गाउँपालिका–७ रेसका वडाध्यक्ष प्रेम लामिछानेले बताए ।

पदमार्ग पर्यटकले रुचाउने हुनुपर्ने बागलुङका पर्यटन व्यवसायी निलेश राजभण्डारी बताउँछन् । नितान्त प्राकृतिक तथा कम खर्चिलो पदमार्गमा टे«किङ गर्न पर्यटकले रुचाउने गर्छन् । यहाँ चिनियाँ र कोरियन पर्यटक आउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।