नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

के हो कोरोना भाइरस ?

काठमाडौं,नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘बिरामीका नजिकको सम्पर्कमा आएको हुन सक्नेहरुको खोजी गरी पहिचान र परीक्षणको काम हुँदैछ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ‘यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधानअनुसार विश्व स्वास्थ्य संगठनलाई चाँडै विस्तृत परिवतरणसहित जानकारी गराइँदैछ । मन्त्रालयले शंकास्पद विरामीको रिपोर्टिङ गर्ने फारम र रोगबारेको सूचना सामग्री सबैले पाउने गरी उपलब्ध गराइसकेको जनाएको छ । त्यस्तै कोरोना भाइरस संक्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कतासमेत अपनाएको छ ।

त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शंकास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ । ‘त्यहाँबाट ज्वरोसहितका बिरामीको पहिचान गरी तोकिएका अस्पतालहरुमा अवलोकन, परीक्षण, उपचारका लागि लैजाने व्यवस्था भइसकेको छ’ मन्त्रालयले भनेको छ । त्यस्तै चीनबाट नेपाल आउने हरेक विमानहरुमा यात्रुको स्वास्थ्यसम्बन्धी फाराम भरी विमानस्थलमा पेश गर्नुपर्ने व्यवस्थासमेत रगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सागर दाहालले कोरोना भाइरस संक्रमणको उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा आवश्यक तयारी गरिसकेको बताए । शनिबारदेखि विमानस्थलमा संक्रमित व्यक्ति भेटिए एम्बुलेन्समार्फत सिधै अस्पताल लैजाने व्यवस्था गरिने उनले जानकारी दिए । त्रि भुवन विमानस्थलमा पाँचवटा मेसिनद्वारा कोरोना भाइरसको परीक्षण गरिने पनि उनले बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट जोगिन सचेत हुने बाहेक अरु उपाय नभएको बताए । रोगको कुनै सीमा नहुने भन्दै उनले सावधानी अपनाउन आग्रह गरे । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले आवश्यक तयारी गरिरहेको पनि उनले बताए ।

के हो कोरोना भाइरस ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ।

अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो। जुन पहिले मानिसमा पहिचान भएको थिएन। डब्लुएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम (मार्स) र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को समस्या निम्त्याउँछ।

कसरी थाहा पाइन्छ ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।