जलेर एक महिलाको मृत्यु

सिरहा, सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा आज बिहान आगलागी हुँदा एकल महिलाको मृत्यु भएको छ भने करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ ।

अचानक विद्युत् भार कटौती भएर बिहान आगलागी हुँदा कर्जन्हा नगरपालिका–४ निवासी १७ वर्षीय एकल महिला चुनचुनकुमारी नायकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।आगलागी भएको घरमै सुतिरहेकी चुनचुनको जलेर मृत्यु भएको र उनको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए ।

सोही आगलागीमा परी घरमा रहेको फर्निचर, फ्रिज, खाद्यान्न लगायतका समानसमेत जलेर नष्ट हुँदा करिब रु दुई लाखको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको थियो ।