भारतबाट ल्याइएका अवैध खसी सहित २ जना पक्राउ

कोहलपुर, भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याइएका खसी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।कोहलपुर प्रहरीले राजस्व छलेर अवैध रुपमा नेपाल प्रवेश गराईएका ३८ लाख बराबरका २५७ वटा खसी बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी कुलदिप चन्दको कमाण्डमा खटिएको प्रहरी टोलिले बाँकेको राप्ती सोनारी गाँउपालिका ३ स्थित वनघिर्सी जंगलबाट रातको समयमा दुई ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रोल्पा जिल्ला रुन्तिगढी गाँउपालिका वडां नं. ६ का युवराज पुन र दाङ जिल्ला घोराही उपमहानगरपालिका १३ का सविन थापा रहेको प्रहरीले जनाएको छ ।

चालक पुनले रा १ ख १०९८ नम्बरको गाडीमा ५२ वटा खसी ल्याएर आएका थिए भने, थापाले रा १ ख २१९८ नम्बरको गाडीमा ५५ वटा खसी खसी ल्याएर नेपाल छिरेका थिए । यस्तै अन्य खसीहरु भने गाडीका डिक्कीमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका खसी नेपालगञ्ज भन्सार कार्यालयमा पठाएको छ । साथै नियन्त्रणमा लिइएका दुवैजना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।