निर्माण कार्य पूरा नहुँदै भुक्तानी माग्न गएपछि .

जाजरकोट ,अघिल्लो वर्षमै निर्माण गरिसक्नु पर्ने सडक अहिलेसम्म निर्माण नगर्दा खलंगा-पाँचकाटिया सडकमा स्थानीयलाई सास्ती हुँदै आएको छ।

खलंगा-पाँचकाटिया सडक खण्डभित्र पर्ने भेरी नगरपालिका २ रिसाङ खोलादेखि बाहुनथाना सम्मको सडकमा ग्रावेल अघिल्लो वर्ष गरी सक्ने सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको डाँफे विल्डर्सले अहिलेसम्म काम पूरा गरेको छैन। आधा गरेको काम पनि पूरै मापदण्डविपरित गरेको पाइएको छ। एक करोडको ठेक्कामा घटीघटाउ ४२ लाख बरावरको रकममा ग्रावेल निर्माण गर्ने सम्झौता गरेको डाँफे विल्डर्सले अहिलेसम्म सो सडक खण्डभित्र नाली, वाल निर्माण गरेको छैन।

निर्माण गरिएका सामान्य वाल र नालीमा सिमेन्ट भन्दा भारी मात्रामा वालुवा राखेर काम नलाग्ने अवस्था सिर्जना भएको पाइएको छ। दैनिक यो सडक भएर यात्रा गर्ने सर्वसाधारण जोखिम मोल्दै यात्रा गर्न बाध्य भएपनि डाँफे विल्डर्सले गुणस्तरिय काम गरी समयमै सक्ने कार्यमा चरम लापरवाही गरेको स्थानीय पृथ्वीबहादुर खड्काले गुनासो गर्नुभयो। उनले भने,’जथाभावी डोजर हालेर हाम्रो जग्गा, जमिन भत्काउने काम भयो। तर वाल र नाली निर्माण गर्ने काम भएन।’ अहिले ठाउँ ठाउँमा माटोको थुप्रो राखेर सामान्य भएको सडक समेत यात्रा गर्न धौ-धौ भएको यातायात व्यवसायी धर्मबहादुर रावतले बताए।

उनले भने ,’सरकारले वजेट दिएन किन भन्ने? दिएको वजेटबाट राम्रो काम हुँदैन। तोकिएको समयमा ठेकेदारले काम गर्दैन्न कसरी हुन्छ हाम्रो विकास? सात वर्षदेखि यो बाटो लथालिङ्ग छ यो वाटो।’ ग्रावेल गर्ने भनिएको सडकमा सडक समेत फराकिलो नवनाउदा दैनिक सास्ती हुँदै आएको छ। सडक डिभिजन कार्यालय, रुकुम पश्चिम चौरजहारीका प्रमुख नरेन्द्र भट्टले पटकपटक ध्यान आकर्षण गराउँदा पनि काम नभएको बताएका छन्। अव हर्जानालगाएर काम लगाउने प्रयास भइरहेको भट्टको भनाई छ।

तोकिएको समयभित्र निर्माण पूरा नगर्ने, भएको सडक समेत ज्यानमारा बनाएर बीचमा छाड्ने प्रवृतिका कारण विकासमा वाधा पुगेको स्थानीयले बताएका छन्। डाँफे विल्डर्सका प्रतिनिधि वुद्धिबहादुर खत्रीले काम पूरा नगरी भुक्तानी माग्न डिभिजन कार्यालयमा गएका थिए। तर काम पूरा नभएको गुनासो आएपछि कार्यालयले भुक्तानी रोक्नुका साथै पूर्ण काम गर्न दवाव दिइएको निर्माण व्यवसायी कृष्णविक्रम शाहले जानकारी दिए।

वुद्धिबहादुर खत्रीसँग पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेको छैन। निर्माण व्यवसायीले काम पूरा नगर्दा अन्य काम प्रभावित जाजरकोट खलंगा-पाँचकाटिया सडक खण्ड ट्रयाक खुला भएको सात वर्ष भन्दा बढी भए पनि यो सडक खण्डमा यातायातका साधन गुड्न सकेका छैनन्। करिव २१ किलोमिटर लम्वाइ रहेको यस खण्डमा बिभिन्न निकायको २१ करोड भन्दा बढी खर्च भइसकेको छ। बजेट जति लगानी गरे पनि काम पूरा नगर्दा सडकको हालत पुरानै रहेको छ।

वर्षेनी राज्यको करोडौं रकम खन्याए पनि सडकको काम प्रभावकारी नहुँदा दैनिक सार्वसाधारणले दुख भोग्दै आएका छन्। यही सडकमा अहिले पूर्ण करोडकै वोलपत्र आह्वान भएको भए पनि पुरोनो काम पूरा नहुँदा नयाँ काम प्रभावित हुँदै आएको छ। जाजरकोट सदरमुकाम हुँदै पाँचकाटिया जुम्ला जोड्ने यो सडक निर्माण व्यवसायीको ढिला सुस्तीका कारण कामले गति लिन सकेको छैन। हिउँद याममा मात्र सामान्य ट्याक्टर सञ्चालन भए पनि वर्षायाममा पूरै सडक अवरुद्ध हुने गरेको छ। काम पूरा नगर्ने तर लाखैका ठेक्का लिने चलनका कारण विकास निर्माणका वाधा पुग्दै आएको छ।