सभामुखमा सहमति खोज्न ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता

काठमाडौँ । सभामुखबारे सहमति जुटाउन त्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान नौ बजेदेखि दुई अध्यक्षबीच छलफल सुरु भएको हो ।

गत बिहीबार र शुक्रबार पनि दुई अध्यक्षबीच कसलाई सभामुख बनाउने भन्नेमा छलफल भएपनि निश्कर्ष आउन सकेको थिएन । तर दुवै दिनका छलफल सकारात्मक भएको दुवै अध्यक्षको सचिवालयले जनाएका थिए । सभामुख छान्न नेकपाले निर्णय गर्न ढिलाइ गरेपछि प्रतिनिधिसभा बैठक पटक पटक स्थगित हुदै आएको छ । प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते अर्थात् भोलिका लागि बोलाइएको छ ।

नेकपामा आज बेलुकासम्म पनि सभामुखबारे टुङ्गो नलागे भोलिको संसद बैठक पनि स्थगित हुने सम्भावना रहेको छ । तर नेकपाका नेताहरुका अनुसार भोलि विहानसम्म नेकपाले सभामुखको निर्णय गरिसक्ने गरी दुई अध्यक्षबीच कुराकानी भइरहेको छ । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले सभामुखमा दलका उपनेता समेत रहेका सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई अघि सार्दै आएका छन् ।