नेकपाबाट सभामुखको उम्मेदवारमा अग्नि सापकोटा

बल्लतल्ल टुंगियो रस्साकस्सी !

काठमाडौं,करिब डेढ महिना लामो रस्साकस्सीबिच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको सभामुखको उम्मेदवार स्थायी कमिटी सदस्य अग्‍नि सापकोटालाई बनाउने निर्णय गरेको छ। आइतवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय लिएको हो।

यसअघि आइतवार बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सापकोटाकै नाममा सहमति जुटाएका थिए। यसअघिकै सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन भनिसकेको छ।  सत्तारुढ नेकपाले प्रतिनिधि सभाको सभामुख चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठक पटक पटक स्थागित हुँदै आएको थियो।

तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा जेल गएसँगै सभामुख पद रिक्त थियो। यसअघि सभामुखमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आ-आफ्नो अडानले सभामुख चयन गर्न सकिएको थिएन। प्रधानमन्त्री ओलीले सभामुखमा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई बनाउने पक्षमा थिए।

यता, उसभामुख डा. शिवमाया तुम्बाहाङफेले पनि सभामुखको दाबी गरिहेकी थिइन्। सभामुख चयन हुन नसक्दा पुस ४ गते बसेयता प्रतिनिधि सभाको बैठक तीन पटक स्थगित भइसकेको छ। तत्कालीन माओवादीको भागमा परेको सभामुख पद आफूहरुले पाउनुपर्ने अडान प्रचण्डले राखेका थिए। अध्यक्ष दाहालले सभामुख छाड्न परेमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अर्को अडान लिएका थिए।