चार तोला सुन सहित नगद ७० हजार भेटिएको झोला हस्तान्तरण

तनहुँं, तनहुँको घाँसीकुवामा चार तोला सुन र ७० हजार नगदसहित भेटिएको झोला सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ 

 

पोखरा घुम्न जान लागेका गोरखाको पालुङ्गटार नगरपालिकास्थित ठाटीपोखरी एकता बाल क्लबका सदस्यहरुले भेटाएको उक्त सुन र नगदसहितको झोला पोखरास्थित बैदाम प्रहरी चौकीको रोहबरमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो ।उनीहरुले तनहुँको घाँसीकुवामा खाजा खाने क्रममा एउटा कालो झोला भेटाएका थिए । झोला खोलेर हेर्दा त्यहाँ नगद करिब ७० हजारसहित चार तोला भन्दा बढीको गरगहना फेला पारेका थिए ।

उक्त गरगहना तथा नगद भेटिएको बारेमा हरि श्रेष्ठले फेसबुकमा लेख्दै जीवनमा पुण्यको काम गर्न पाएकोमा गर्व गरेका छन् ।उनले सो सामान मोरङ जिल्ला घर भएका एक व्यक्तिलाई इटहरी जाँदै गर्दा चितवनबाट फर्कन लगाएर हस्तान्तरण गरिएको फेसबुकमा लेखेका छन् ।ठाटिपोखरी एकता बाल क्लबको व्यवस्थापन गर्दै आएका ऋषि राम देवकोटा, सुरज राजभाट र हरि श्रेष्ठले उक्त सामान हस्तान्तरण गरेका हुन् ।