कर्णाली प्रदेश ‘सडक मानवमुक्त’ प्रदेश घोषणा

सुर्खेत, कर्णाली प्रदेश सयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा भएको छ । खाना, नाना र छानाको अभावमा सडक, मन्दिर र सार्वजनिक स्थलमा माग्न बस्ने र त्यहीं नै रात बिताउने एक सय ५० जनाको उद्धार गरेसँगै प्रदेश सरकारले कर्णालीलाई सडक मानवमुक्त घोषणा गरेको हो । प्रदेशका सबै स्थानीय तह, सरोकारवाला र मानव सेवा आश्रमसँगको सहकार्यमा शनिबार कर्णालीलाई सडक मानवमुक्त घोषणा गरिएको हो । सडक मानवरहित घोषणा हुने कर्णाली नेपालकै पहिलो प्रदेश भएको छ । सडक मानवमुक्त घोषणा कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहिले सड्क बालबालीका र बृद्धाहरुलाई आवश्यक अनुसारका ब्यवस्थापन गर्ने बताए ।

बालबालिकाका लागी पठन पाठ्नको ब्यवस्था हुने गरी संरचना निमार्ण गरिने र जेष्ठनागरिकहरुका लागी जिवन जिउनका लागी उपयुक्त हुने गरि संरचना बनाईने उहाले बताए । मानव सेवा आश्रम सुर्खेतमा अहिले ५० जना आश्रित छन्। आश्रमका संयोजक सिर्जना ओलीका अनुसार एक वर्षको अवधिमा एक सय ५० जनालाई विभिन्न जिल्लाका सडकबाट उद्धार गरेर ल्याइएकोमा अन्यलाई परिवारको जिम्मा लगाइएको छ ।

प्रदेश प्रहरी कार्यालयमार्फत प्रदेशभरका प्रहरी युनिट तथा जिल्ला समन्वय समितिमार्फत सबै स्थानीय तहलाई सहयोगापेक्षी सडक मानव भए तत्काल खबर गर्न पत्राचार गरिएको छ । कर्णालीलाई सडक मानवमुक्त बनाउने निर्णय पुस ८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको थियो । पुस ११ गते भएको प्रदेश समन्वय परिषद्को दोस्रो बैठकमा सहभागी ७९ वटै स्थानीय तह र १० वटै जिल्ला समन्वय समितिले कर्णालीलाई सडक मानवरहित बनाउने संकल्पमा प्रतिबद्धता जनाएका थिए ।

प्रदेश सरकारले सहारा नभएका वृद्धवृद्धाका लागि प्रशान्ति वृद्धाश्रम, शारीरिक एवं मानसिक रुपमा अशक्तका लागि मानव सेवा आश्रम र बालबालिकालाई आमा घरमा राख्ने व्यवस्था मिलाएको छ ।