बाख्रालाई जोगाउ खोज्दा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु,पाँच घाइते

सिरहा,पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु र पाँच घाइते भएका छन् ।

जन्ती लिएर जाँदै गरेको स १ त ६५६० नम्बरको ट्रयाक्टर आज दिउँसो दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सिरहाको लहान नगरपालिका–१३ निवासी २१ वर्षीय सन्तोषकुमार यादव र धनगढी नगरपालिका–१२ निवासी २२ वर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए । ती दुवैलाई उपचारको लागि लहानस्थित अस्पताल ल्याउँदै गरेको अवस्थामा बाटोमै मृत्यु भएको उनले जानकारी दिए।

मृतक दुवैको शव लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको र घाइतेका स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।बाख्रालाई जोगाउने क्रममा ट्रयाक्टर अचानक अनियन्त्रित भई दुर्घटनामा परेको स्थानीयवासीले बताएका छन् ।