अब सफ्टवेयरबाटै देशभरको खानेपानीको अवस्था थाहा पाइने

काठमाडौं, खानेपानी मन्त्रालयले देशैभरिकाे खानेपानीको अवस्थाबारे जानकारी लिन सकिने सफ्टवेयर प्रयोगमा ल्याउने भएको छ ।

मन्त्रालयले खानेपानी आयोजनाको अवस्था, आयोजनाको सुचारुपना, दिगोपना र पहुँचबाहिर रहेका उपभोक्ताबारे डिजिटल तथ्याङ्क, जानकारी र सूचना दिने उद्देश्यले वेबमा आधारित सफ्टवेयर तयार गरेको हो ।विश्व बैंकको सहयोगमा तयार भएको उक्त सफ्टवेयरबारे आज खानेपानी मन्त्रालयमा प्रस्तुति गरिएको थियो ।सो अवसरमा खानेपानी मन्त्री बीना मगरले नयाँ प्रविधिको माध्यमबाट देशैभरिको खानेपानीको अवस्थाबारे थाहा हुने भएपछि यसले खानेपानीका योजना बनाउन सहयोग गर्ने बताइन् ।

“अधिकांश जनप्रतिनिधि योजना माग्न आइरहनुहुन्छ । कुन ठाउँमा खानेपानी आयोजनाको आवश्यकता छ, कुन ठाउँमा छैन भन्ने कुरा यसबाट थाहा हुने भएकाले अब मन्त्रालयलाई काम गर्न सजिलो हुन्छ”, उनले भनिन्, “खानेपानी र सरसफाइको क्षेत्रमा नयाँ ‘टेक्नोलोजी’का माध्यमबाट काम गर्न सहज हुने भएकाले अब योजना छनोट गर्न सजिलो हुने भएको छ ।”खानेपानीको अवस्थाको तथ्याङ्क लिइसकेपछि ७५३ वटै स्थानीय तहमा सरसफाइ योजना बनाउने उनको भनाइ थियो ।

‘एनवास’ नाम दिइएको उक्त सफ्टवेयर प्रणालीमार्फत देशैभरिका खानेपानी आयोजनाको डिजिटल तथ्याङ्क, सर्भे गर्ने व्यक्ति, सम्बन्धित खानेपानी योजनाको मुहान, रिजर्भवायर ट्याङ्की र पाइपलाइनको अवस्था साथै उपभोक्ता समितिबारे विस्तृत जानकारी पाउन सकिने मन्त्रालयका सिनियर डिभिजनल इन्जिनीयर डा रजित ओझाले जानकारी दिए ।

सफ्टवेयरबारे जानकारी गराउँदै उनले भने, “कुनै आयोजनाको संरचना खोलाले बगाएको छ कि छैन ? रिजर्भवायर ट्याङ्की, पाइपलाइनको अवस्था कस्तो छ ? कति उपभोक्ताले खानेपानी उपभोग गरिरहेका छन् ? कति ठाउँमा खानेपानी पुगेको छैन ? सबै कुराको यथार्थ वस्तुस्थिति जानकारी यो सफ्टवेयरबाट थाहा हुन्छ ।”

सफ्टवेयरमा खानेपानी सुविधा नपुगेको वा पहुँच बाहिरका उपभोक्तासम्बन्धी जानकारी समेत समावेश हुनेछ ।सफ्टवेयरको माध्यमबाट खानेपानीमा पहुँच नभएका जनसङ्ख्याको तथ्याङ्क आएपछि खानेपानीको पहुँच नभएका क्षेत्रको पहिचान हुनेछ जसका कारण आगामी दिनमा योजना छनोट गर्न सजिलो हुनेछ ।“जहाँ खानेपानीको पहुँच छैन, त्यो ठाउँमा योजना छनोट गर्न सजिलो हुनेछ । यसरी खानेपानीको पहुँच बाहिरका जनतालाई खानेपानी सेवा उपलब्ध गराउन सफल हुनेछौँ”, उनले भने ।