इरानको क्षेप्यास्त्र प्रहारबाट युक्रेनि विमान खसेको प्रमाण भेटिएको दाबी

एजेन्सी, इरानी क्षेप्यास्त्रका कारण युक्रेनको एउटा यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका छन्। उनीहरूका अनुसार त्रुटिवश त्यसो भएको हुन सक्छ।क्यानडा र युकेका नेताहरूले उक्त विमान दुर्घटनाको सम्बन्धमा पूर्ण र विस्तृत अनुसन्धान हुनुपर्ने माग गरेका छन्। दुर्घटनामा विभिन्न देशका १७६ नागरिकको मृत्यु भएको थियो।

तर इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणालीबाट क्षेप्यास्त्र प्रहार नभएको भन्दै त्यस्तो दाबीको खण्डन गरेको छ।

इरानी सरकारका एक प्रवक्ताले पश्चिमा देशले लगाएको आरोपप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।

के छ अनुमान?

इरानले इराकस्थित अमेरिकी सैनिकहरू बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो।

अमेरिकी सञ्चारमाध्यमहरूको अनुमानअनुसार विमान दुर्घटनाको समयलाई विचार गर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गर्दै गर्दा उक्त विमानलाई अमेरिकी लडाकु विमान भनेर झुक्किएको हुन सक्छ।
विमान दुर्घटनामा मारिएकाहरूमा ८२ जना इरानका, ६३ जना क्यानडाका र ११ जना युक्रेनका नागरिक थिए। स्वीडेन, यूके, अफगानिस्तान र जर्मनीका यात्रु पनि उक्त विमानमा थिए।

सीबीएस न्यूजले अमेरिकी गुप्तचर स्रोतहरूलाई उद्धृत गर्दै जनाएअनुसार एउटा भूउपग्रहले दुईवटा क्षेप्यास्त्र प्रहारको र एउटा विस्फोटको इन्फ्रारेड तरङ्ग ‘ब्लिप’ देखिएको पत्ता लगाएको छ।

यसैबीच न्यूजवीकले पेन्टागन र एक वरिष्ठ अमेरिकी गुप्तचर अधिकारी तथा एक इराकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै युक्रेन इन्टर्न्याशनल एअरलाइन्सको उक्त विमानमा रुसमा निर्मित टोर क्षेप्यास्त्र प्रहार गरिएको हुन सक्ने विवरण प्रकाशित गरेको छ।

न्यूयोर्क टाइम्सले प्राप्त गरेको भिडिओमा तेहरानमाथि राति आकाशमा क्षेप्यास्त्रको उज्यालो अघि बढ्दै गरेको र विमानसँग ठोक्किएर विस्फोट भएको जस्तो देख्‍न सकिन्छ।

त्यसको १० सेकेन्डपछि जमिनमा ठूलो विस्फोटन भएको आवाज सुन्न सकिन्छ। आगो लागेको उक्त विमान भने उडिरहेको नै देखिन्छ।

बिहीवार बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने उनलाई उक्त विमानलाई के भएको थियो भन्ने विषयमा केही सन्देह लागेको थियो।

तर बीबीसी संवाददाता पल एडम्सका अनुसार इरानी अधिकारीहरूले पश्चिमा देशको आरोपलाई ‘हास्यास्पद’ भन्दै खण्डन गरेका छन्। त्यसलाई उनीहरूले अमेरिकाको ‘मनोवैज्ञानिक कारबाही’ को अंश भनेका छन्।

कसरी हुँदैछ छानबिन ?

इरानका एक सैन्य नेता कासिम सुलेमानी अमेरिकी हवाई कारबाहीमा मारिएपछि बढेको तनावका बीच इरानले उक्त विमानको ब्ल्याकबक्स अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई नदिने बताएको थियो।

तर एक इरानी अधिकारीले रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै विमान दुर्घटनासम्बन्धी अनुसन्धानमा सहभागी हुन अमेरिकालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको बताएका छन्।

अमेरिकी राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी) ले आफूले आफ्नो तर्फबाट एक अनुसन्धानकर्ता नियुक्त गरिएको पुष्टि गरेको छ।

बोइङले आफूले एनटीएसबीको अनुसन्धानलाई सघाउने बताएको छ, र क्यानडाको यातायात सुरक्षा बोर्डले पनि आफूलाई तेहरानले दुर्घटनास्थलको अवलोकनका लागि बोलाएको जनाएको छ।

विश्वव्यापी उड्डयन नियमानुसार कुनै पनि अनुसन्धानको नेतृत्व गर्ने अधिकार इरानको हो, तर सामान्यतया विमान निर्मातापनि अनुसन्धानमा संलग्न हुन्छन्।

इरानी टेलिभिजनहरूमा दुर्घटनास्थलमा बुलडोजर चलाइएका दृश्यहरू देखाइएको थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दुर्घटनाको अन्तर्राष्ट्रिय कानुनबमोजिम पूर्ण र स्वतन्त्र छानबिन हुने घोषणा गर्दै सहकार्य बढाउन आफूले इरानी नेताहरूसँग कुरा गर्ने बताएका थिए।

क्यानडाका प्रधानमन्त्रीले पनि छानबिनमा आफ्नो देश सहभागी हुने अपेक्षा व्यक्त गर्दै प्राविधिक सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका थिए।

विमानमा को थिए ?

तेहरानबाट किएभका लागि उडेको युक्रेन इन्टर्न्याश्नल एअरलाइन्सको विमान ७५२ मा चालकदका सदस्यसहित कुल १७६ जना थिए। अधिकांश यात्रु इरान र क्यानडाका थिए। मृतकमध्ये १५ जना बालबालिका थिए।

तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इन्जिनमा समस्या देखिएको बताएको थियो।

तर छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाको कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै उसले त्यो भनाइ फिर्ता लियो।

फ्लाइटरेडार वेबसाइटका अनुसार विमान दुर्घटना भएको बेलामा तेहरान विमान भिजिबिलिटी अर्थात् दृश्यता राम्रो थियो। विमानको चालकदलमा अनुभवी व्यक्तिहरू भएको विमानसेवाले बताएको छ।

छानबिनको औपचारिक प्रतिवेदन नआएसम्म दुर्घटनाको कारणबारे अनुमान नगर्न युक्रेनी राष्ट्रपतिले आग्रह गरेका छन्।

इरानी सञ्चारमाध्यमले प्राविधिक कारणले विमान दुर्घटनामा परेको भन्दै एक अधिकारीलाई उद्धृत गरेका छन्।

मेहर समाचारसंस्थाका अनुसार इरानी नागरिक उड्डयन प्राधिकरणका प्रमुखले “आतङ्कवाद” को भूमिका नभएको जनाएका छन्।

दुई देशबीच तनाव चरमोत्कर्षमा पुगेका बेला इरानले अमेरिकी सेनालाई आतङ्ककारी घोषणा गरेको छ। बिबिसि