५७ औं वार्षिकोत्सव सम्म पनि कान्ति अस्पताल अझै ‘बामे’ सर्दै !

काठमाडौं,महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको आज ५७ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा अस्पतालको ओपीडीतर्फ जाने बाटो तर्फको प्राङगण सजिएको थियो ।

प्राङ्गणको मञ्चतर्फ स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव खगराज बराल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा डीएन साह लगायत थिए । यस्तै प्राङ्गणतर्फ अस्पतालका पूर्व निर्देशकदेखि अन्य चिकित्सक, कर्मचारी तथा अस्पतालमा सेवा लिन आएका बिरामीका कुरुवाहरु थिए ।

कार्यक्रम शुरु भएसँगै अस्पतालका निर्देशक डाक्टर आरपी बिच्छाले आफू अस्पतालको निर्देशक भएपछि अस्पतालमा भएका कार्य प्रगति र समस्याबारे सुनाउन थाले । डा विच्छाले अस्पतालमा कर्मचारी र बजेट अभाव भएको गुनासो गरे ।

‘आईसीयु अभावका कारण यहाँ आएका बिरामी अन्त प्राइभेटमा जानुपर्ने बाध्यता वर्षौदेखि भोगिरहेका छौं, त्यसको समाधानका लागि विज्ञहरुसँग भनेर हामीले ८ वेडको इन्टर मेडियट केयर (पीआइसीयु)को स्थापना गर्‍यौं,’ डा विच्छाले खुशीका साथ भने, ‘यो सेवाको विस्तारले रेफर गर्नुपर्ने ६० देखि ७० प्रतिशत बिरामीलाई हामीले व्यावस्थापन गर्न पाएका छौं ।’

डा विच्छाले आकस्मिक कक्षमा उपचारका लागि आउने दैनिक ५ जना बिरामी रेफर गर्नुपर्ने बाध्यता रहेको बताए । उनले कान्ति बाल अस्पतालबाट बिरामी रेफर गर्नुपर्ने बाध्यताको अन्त्यका लागि थप २० वटा पीआइसीयु वेड र एमआइसीयुका वेड थप गर्न मन्त्रालयमा योजना पठाइएको बताए ।

उनले नेपाल रेडक्रस र राउण्ड टेबलको सहयोगमा ब्लड बैंक २४ सै घण्टा सुचारु भएको सुनाए ।

उनले कान्ति अस्पतालमा उपचारत बिरामी बालबालिका मध्ये दैनिक १० जना बालबालिकालाई रगत दिनुपर्ने अवस्था रहेको सुनाए ।
बिरामी बालबालिका लिएर आउने अभिभावकका लागि ५० परिवारसम्मका लागि कुरुवा घरको एक वर्षसम्ममा व्यवस्थापन हुने अस्पतालका निर्देशक डा विच्छाले बताए ।

वार्षिक ७२ लाखको अक्सिजन किन्दै आएको अस्पतालले अब काठमाडौं महानगरपालिकाको सहयोगमा आफ्नै अक्सिजन प्लान्ट बनाउन लागेको डा विच्छाको भनाइ छ । उनले अस्पतालको बिग्रिएको सिटी स्क्यान र अल्टासाउन्ड समेत मर्मत गरेर सुचारु गरिएको सुनाए ।

अस्पतालका निर्देशक डा विच्छाले आफूले गरेको प्रगतिबारे सुनाउँदै मन्त्री ढकालसामु अस्पतालमा देखिएका समस्याबारे समेत जानकारी गराएका थिए । अस्पतालमा मेडिकल अफिसर र नर्सिङ जनशक्ति नहुँदा अस्पतालमा जडान भएको ५१ शय्याको आईसीयु चलाउन नसकिएको निर्देशक डा विच्छाले बताए । अस्पतालका लागि सरकारले छुट्याएको बजेट कर्मचारीकै तलबमा सकिने गरेको उनले जानकारी दिएका थिए ।

‘हाम्रो मुख्य समस्या अर्थ हो, अहिलेको बजेटले कर्मचारीलाई तलब खुवाउँनै मुस्किल छ, अर्को समस्या हो कर्मचारी अभाव, मैले पहिला पनि निवेदन गरेको थिएँ, कम्तिमा २० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्स अहिलेकै सेवा दिइरहेकै अवस्थामा अपुग छ,’ डा विच्छाले भने, ‘मन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु, त्यति मेडिकल अफिसर र नर्स नहुँदा हामीले दैनिक समस्या भोगिरहेका छौं । त्यसको व्यवस्थापना तत्काल गरिदिनुपर्छ ।’