नेपालगन्जका पसलमा म्याद नाघेका खाद्य वस्तु बिक्री

दर्ता नगरी पसल संचालन

बाँके ,नेपालगन्जका पसलमा म्याद नाघेका खाद्य वस्तु फेला परेको छ। यसले नेपालगन्जका व्यापारीले अखाद्य वस्तुसमेत बिक्री गर्दै आएको प्रमाणित भएको छ। संयुक्त बजार अनुगमन समितिले अखाद्य वस्तु बिक्री गर्ने व्यापारीलाई कारवाही गरेको छ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्य वस्तु बिक्रीका लागि पसलमा राखेको फेला परेपछि उपभोक्तालाई झुक्याएर बिक्री गर्ने व्यापारीलाई कारवाही गरेको हो।  अनुगमन समितिले मंगलबार अनुगमन गर्ने क्रममा म्याद नाघेका र बिनादर्ता पसल संचालन गरेको फेला परेपछि दुईजना व्यापारीलाई कारबाही गरेको छ।

नेपालगन्जको धम्बोझी चोकस्थित अंशु जनरल स्टोरले बिना दर्ता पसल संचालन गरी म्याद नाघेका वस्तु बिक्री गरेको फेला परेपछि कारवाहीस्वरुप ५० हजार रुपैयाँ जरिवाना र २५ हजार बराबरको सामान जफत गरिएको अनुगमन समितिले जनाएको छ।

अनुगमन टोलीले खजुरारोडस्थित फरिद किरान स्टोरमा अनुगमन गर्दा उपभोग्य वस्तुको मिति नभएको २५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री बरामद गरेको जनाइएको छ। दुबै पसलबाट बरामद गरिएको सामान मंगलबार नै जिल्ला प्रशासन कार्यालय परिसरमा नष्ट गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिए।