मावि तहको लाइसेन्स परीक्षाको ७५ प्रतिशत कापी परिक्षण

नतिजा भने माघमा

भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको माध्यमिक तहको कापी परिक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अध्यक्ष ताना गौतमले माध्यमिक तहको ७५ प्रतिशत बढी कापी परिक्षण सकिएको बताएका हुन् । गौतमका अनुसार पुषभित्रै मावि तहको कपी परिक्षण सकिने र माघमा नतिजा प्रकाशित हुनेछ ।

आयोगले काठमाडौंमा २ र ललितपुरमा २ गरी ४ परिक्षण केन्द्रमा धमाधम कापी परिक्षण गरिरहेको छ । यसअघि काठमाडौंको कालिमाटीस्थित जनप्रभात मावि र ललितपुरको बालकुमारी स्थित गम्भिर समुन्द्र सेतु मावि गरी २ वटा परिक्षण केन्द्रमा कापी परिक्षण भइरहेकामा अहिले काठमाडौंको रत्नराज्य मावि बानेश्वर र ललितपुरको टीका विद्याश्रम सानेपा गरी २ केन्द्र थपेर धमाधम कापी परीक्षण भइरहेको हो ।

चारओटै परिक्षण केन्द्रमा हाल २ सय बढी परिक्षकले कापी परिक्षण गरिरहेका र जाडो विदाको समयमा आवश्यकताका आधारमा थप शिक्षकहरुबाट कापी परिक्षण गराइने आयोगका अध्यक्ष गौतमले जानकारी दिए । गौतमका अनुसार हाल निम्न माध्यमिक र माध्यमिक तहको कापी परिक्षण भइरहेको र केही दिन भित्रै प्राथमिक तहको पनि कापी परिक्षण शुरु गरिने छ । उनका अनुसार प्राथमिक तहको कापी परिक्षणका लागि आयोगमा समेत परिक्षण केन्द्र राख्ने तयारी भइरहेको छ ।

प्रावि तहको कापीको कोडिङ गर्ने काम सकिएको भन्दै गौतमले निमावि र प्राथमिक तहका कापी परिक्षक एकै हुने भएकाले निमाविको सकिन साथ प्रावितहको परिक्षण शुरु गरिने स्पष्ट पारे । गएको असोजमा भएको शिक्षक लाइसेन्स परीक्षामा प्राविका लागि ६६ हजार ५ सय ९५, निमाविका लागि ५६ हजार १ सय ४० र माविका लागि १ लाख १ हजार ९ सय ९० परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।