ठेकेदारसँग बैंकमार्फत घुसलिने विभागका इन्जिनियर पक्राउ

काठमाडौं,ठेकेदार कम्पनीसँग बैंक खाता मार्फत घुस रकम माग गर्दै शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर पक्राउ परेका छन् । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत इलामस्थित डिभिजनल कार्यालयका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेत पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर बस्नेतलाई पक्राउ गरेको हो । इन्जिनियर बस्नेतले झापा जिल्लामा सडक ग्राभेलको काम गर्दा बिल बनाइ भुक्तानी गर्ने प्रयोजनका लागि ठेकेदार कम्पनीसँग घुस माग गरेका थिए ।

अख्तियारले गरेको प्रारम्भिक छानबिनका क्रममा उनले बैंक खातामार्फत ठेकेदार कम्पनीसँग घुस रकम माग्ने गरेका थिए । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले ठेकेदारसँग घुस लिएको विषयमा थप अनुसन्धानका लागि इन्जिनियर बस्नेतलाई नियन्त्रणमा लिइएको बताए ।

अख्तियारका प्रवक्ता कोइरालाका अनुसार इन्जिनियर बस्नेतले बैंक खातमार्फत घुस रकम माग्ने गरेका कारण उनले लिएको घुस रकमबारे यकीन हुन सकिएको छैन । विभिन्न बैंकमा भएका उनका खाताको विवरण शंकलन गरी उनले लिएको घुस रकमबारे अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए ।