प्रधानमन्त्री र राष्ट्रपति भण्डारीबीच अस्पतालमै २५ मिनेट कुराकानी

काठमाडौं,चिकित्सकहरुले डिस्चार्ज दिने निर्णय लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी शिक्षण अस्पताल परिसर पुगेकी छन्। दोस्रो पटक महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेकी भण्डारी र प्रधानमन्त्रीबीच करिब २५ मिनेट कुराकानी भएको छ ।

१० दिनदेखि मनमोहनको आईसियुमा रहेका ओलीसँग राष्ट्रपति भण्डारीले भेटेपछि चिकित्सकहरुले आजै दिउँसो ३ बजे डिस्चार्जको निर्णय लिएका छन्। यसअघि पनि राष्ट्रपति भण्डारी प्रधानमन्त्रीलाई भेट्न शिक्षण परिसर पुगेकी थिइन्।

प्रधानमन्त्री ओली आईसियुमा रहँदा राष्ट्रपतिले २ पटक र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक भेटेका छन्। त्यसबाहेक ओली पत्नी राधिका शाक्यलाई मात्रै नियमित भेट गर्न चिकित्सकले अनुमति दिएका थिए।