छाउगोठमा पार्वतीको मृत्युः जेठाजु पक्राउ

काठमाडौं।  छाउगोठमा मृत्यु भएकी अछामको साँफेबगर नगरपालिका–३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढाका जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ। पार्वतीका जेठाजु छत्र राउतलाई आज पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको अछामका प्रहरी प्रमुख, डीएसपी जनकबहादुर शाहीले जानकारी दिए।

शाहीका अनुसार प्रहरी प्रधान कार्यालय र सरोकारकावाला निकायसँगको छलफलपछि जेठाजु राउतलाई पक्राउ गरिएकाे हाे । मुलुकको प्रचलित कानूनले महिनावारीको समयमा छाउगोठमा बसाउनुलाई गैरकानुनी ठान्छ । अहिलेसम्म कानून बने पनि कार्यान्वयन हुन सकेको थिएन। तर, १६ मंसीरमा अछाममा छाउगोठमै २१ वर्षीया पार्वतीले ज्यान गुमाएपछि पहिलोपटक प्रहरीले कानून कार्यान्वयनमा अग्रसरता देखाएको छ।

मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा ‘महिलाको रजश्वला भएको वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन’ भनिएको छ। सो दफा अनुसार छाउगोठमा बस्नु पनि दण्डनीय हो।

परिवारका सदस्यहरूले जाहेरी नदिए पनि प्रहरीले आफ्नो प्रतिवेदनकै आधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। “अहिले जेठाजु मात्रै पक्राउ परेका छन्”, डीएसपी शाहीले भने, “अनुसन्धान गर्दै जाँदा अरू कोही दोषी देखिए उनीहरू पनि पक्राउ पर्छन्।”

मृतक पार्वतीका श्रीमान, सासु-ससुरा भने रोजगारीका सिलसिलामा भारतमा बस्दै आएका छन्। मुलुकी अपराध संहिता अनुसार यो कसूरमा ३ महीना जेल र ३ हजार रूपैयाँ जरिवाना हुने कानूनी व्यवस्था रहेको छ।

पछिल्लो १० वर्षमा अछाममा १४ महिला र बाजुरामा १ महिलासहित ३ जनाको छाउगोठमा मृत्यु भइसकेको छ। महिनावारी हुँदा घरमा बस्न बन्देज लगाउने कु–प्रथाका कारण महिलाले अनाहकमा ज्यान गुमाइरहेका छन्। छाउगोठमा मृत्यु भएका घटनामध्ये अघिकांश निसास्सिएर, सर्पको टोकाई र आगलागीका कारण भएका छन्।

यसअघि अछामको तुर्माखाद गाउँपालिकामा पार्वती बुढा, गौरी बुढा, रोशनी तिरुवा, डम्मरा उपाध्याय, शर्मिला भुसाल र लक्ष्मी बुढाले पनि छाउगोठमै जीवन गुमाउनु परेको थियो।

त्यस्तै, अछाममै झुमादेवी शाही, डिक्रादेवी ढकाल, रतनदेवी विक, झुप्री ढोली, पार्वती धामी, हंशा जैसी र हंशादेवी जोसीको पनि छाउगोठमा नै मृत्यु भएको थियो।

२१ वर्षीया पार्वती बुढाकाे १६ मंसीरमा मृत्यु भएकाे थियाे  ।