अमेरिकासँग वार्ता गर्न इरान तयार

तेहरान । इरानी राष्ट्रपति हस्सन रौहानीले संयुक्तराज्य अमेरिकाले आफूहरु विरुद्ध लगाएको ‘अवैधानिक’ आर्थिक प्रतिबन्धहरु फुकुवा गरेमा आणविक वार्ता गर्न तयार रहेको बताएका छन् । राज्यद्वारा सञ्चालित टेलिभिजनमा बुधबार अन्तर्वार्ता दिँदै राष्ट्रपति रौहानीले इरान सम्बन्धी अमेरिकी नीतिहरुमा फेरबदल आवश्यक रहेको बताए ।राष्ट्रपति रौहानीले इरानमाथि लगाइएका सबै प्रतिबन्ध हटाउन संयुक्तराज्य अमेरिकाले पहिलो अग्रसरता देखाउनुपर्ने पटक पटक आग्रह गरिरहेका छन् । ‘पहिलो कदम भनेकै प्रतिबन्धहरु हटाउनु नै हो । इरानमाथि लगाइएका सबै गैरकानुनी, अन्यायपूर्ण र गलत प्रतिबन्धहरु फिर्ता हुनु पर्दछ ।’ राष्ट्रपति रौहानीले भने, ‘सकारात्मक परिवर्तनको साँचो वासिङ्टनको हातमा छ ।’ उनले संयुक्तराज्य अमेरिकालाई सबैभन्दा ठूलो चिन्ताको विषयका रुपमा रहेको आणविक बम बनाउने कुरा इरानले पहिल्यै त्यागिसकेको पनि बताए ।

‘यदि अमेरिकी सरोकार सही हो भने यसलाई हामीले पहिल्यै सम्बोधन गरिसकेका छौं । इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले जारी गरेको एउटा आदेशबाट यो कार्यान्वयनमा आइसकेको छ ।’ खामेनीले सन् २००३ मै आणविक हतियार नबनाउने बारेमा विशेष आदेश (फत्वा) जारी गरिसकेको इरानी दाबी छ ।

‘त्यसर्थ पहिलो कदम अमेरिकाले नै लिनु पर्दछ । यो कदम बेगर यो गाँठो खुल्दैन,’ राष्ट्रपति रौहानीले भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष सन् २०१५ को बहुपक्षीय आणविक सम्झौताबाट एकपक्षीय रुपमा अलग हुँदै इरान विरुद्ध कडा प्रतिबन्धहरु घोषणा गरेका थिए । –एएफपी