उद्देश्य के लिनु ? किनी खानु प्याज एक !

काठमाडौँ,औद्योगिक तथा मेसिनरी वस्तुमा मात्रै होइन, आफैँले करेसाबारीमा उत्पादन गर्न सक्ने तरकारीमा समेत नेपाल परनिर्भर छ । प्याज एक उदाहरण हो । वार्षिक करिब ६ अर्ब रुपैयाँबराबरको प्याज आयात हुँदा एक करोड ८९ लाखको मात्रै निर्यात भएको छ ।

भन्सार विभागका अनुसार आव ०७५र७६ मा एक लाख ७८ हजार क्विन्टल प्याज आयात भयो । यसरी आयात गर्दा देशले पाँच अर्ब ६२ करोड रुपैयाँ विदेश पठाएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ५८ करोड ७७ लाखको ४१ हजार नौ सय क्विन्टल प्याज आयात भएको छ । आयातको बढ्दो ग्राफलाई मूल्यांकन गर्दा चालू आर्थिक वर्षमा ६ अर्बको प्याज भित्रने अवस्था छ ।

नेपालमा प्याज सबैभन्दा बढी भारतबाट आयात हुन्छ । दोस्रो बजार चीन हो । समीक्षा अवधिमा भारतबाट एक अर्ब ५६ करोड ४० लाख रुपैयाँबराबरको प्याज आयात भएको छ । त्यस्तै, चीनबाट दुई करोड ३२ लाख रुपैयाँबराबरको प्याज आयात भएको देखिन्छ । त्यसबाहेक नामिबियाबाट समेत नेपालमा प्याज आयात हुने गरेको भन्सार विभागको तथ्यांक छ । यस अवधिमा नामिबियाबाट तीन लाख ८७ हजार रुपैयाँबराबरको १२ क्विन्टल प्याज आयात भएको देखिन्छ । भारतीय बजारमा प्याजको मूल्य अकासिएपछि नेपाली बजारमा समेत प्रत्यक्ष असर परेको छ ।

निर्यात भने निराशाजनक छ । ०७५र७६ मा नेपालले एक करोड ८९ लाख रुपैयाँबराबरको ८८ हजार केजी प्याज निर्यात गरेको छ । नेपालले कतार, सिंगापुर र भारतमा निर्यात गरेको हो । एक लाख ५९ हजार रुपैयाँबराबरको तीन हजार पाँच सय केजी प्याज कतार निर्यात गरेको छ । त्यस्तै, सिंगापुरमा ३२ हजार रुपैयाँबराबरको एक सय ४७ केजी निर्यात गरेको भन्सार विभागको तथ्यांक छ । भारतमा भने ७८ लाख ८० हजारको १३ हजार केजी निर्यात गरेको छ ।

यता, विदेशी उत्पादनमा भर परेकाले नेपाली बजारमा पनि प्याजको मूल्य इतिहासमै उच्च बिन्दुमा पुगेको छ । १० मंसिरयता काठमाडौंका खुद्रा बजारमा प्रतिकेजी दुई सय ५० रुपैयाँमा कारोबार भएको छ । कालिमाटी बजारमा १ मंसिरमा एक सय ७५, ४ मंसिरमा एक सय ८५ हुँदै ८ मंसिरमा प्रतिकेजी दुई सय रुपैयाँ निर्धारण गरिएको प्याज १० मंसिरमा २२५ मा कारोबार भयो । बाहिर पसलहरूमा दुई सय ५० सम्म कारोबार भयो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार दुई सय २५ रुपैयाँ प्रतिकेजी तोकेको प्याजको मूल्य शनिबार एक सय ९० निर्धारण गरेको छ ।

कालिमाटीमा प्याजको थोक कारोबार गर्दै आएका व्यवसायी प्रकाश गजुरेल असोज दोस्रो सातादेखि भारतबाट आयात घटेकाले मूल्य अकासिएको बताउँछन् । ‘भारतले प्याज निर्यातमा कठोर नीति लिएपछि आयात गर्न सकिएको छैन । फाट्टफुट्ट विभिन्न माध्यमबाट आयात भएको छ,’ उनले भने । तर, कालिमाटी बजार विकास समितिको तथ्यांकले भने भारतबाट प्याज आयात उत्साहजनक भइरहेको देखाउँछ ।

निर्यातमा प्रतिबन्ध लाग्नुअघि भदौमा २५ लाख ६ हजार केजी प्याज भारतबाट आएको छ । असोजमा १७ लाख १५ हजार र कात्तिकमा १३ लाख ४६ हजार केजी आयात भएको कालिमाटी बजारको तथ्यांक छ । यो आयात कुल मागको आधाभन्दा बढी हो, त्यसैले न्यून आयात होइन ।

तर, व्यवसायीले न्यून आयातको हवला दिँदै मूल्य भने अस्वाभाविक रूपमा वृद्धि गरेका छन् । भदौमा ६८ रुपैयाँ प्रतिकेजी रहेको प्याज असोजमा एक सय ३५ पुग्यो । कात्तिकमा एक सय ६५ सम्म पुगेको मूल्यले मंसिर लागेपछि रेकर्ड नै कायम गरेको हो ।

भारतीय बजार रक्सौलमा शनिबार प्याजको मूल्य प्रतिकेजी सय रुपैयाँ छ । तर, नेपाल भिœयाउँदा भन्सार छलेर ३५ रुपैयाँ मात्रै मूल्यांकन गरिएको छ । जब कि वीरगन्ज छिरेलगत्तै प्याज दुई सय रुपैयाँमा कारोबार भएको छ । काठमाडौं आउँदा खुद्रा बजारमा दुई सय ५० रुपैयाँसम्म पर्छ ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले वीरगन्ज भन्सार कार्यालयमा प्याजको मूल्य प्रतिकेजी ३५ रुपैयाँ २० पैसा ९२२ भारु० रहेको बताए । त्यसमा आयातकर्ताले १० प्रतिशत भन्सार मूल्य, पाँच प्रतिशत अग्रिम आयकर र पाँच प्रतिशत कृषि सुधार शुल्क तिर्नुपर्छ । ती कर समावेश गर्दा वीरगन्ज भन्सारमा प्याजको मूल्य प्रतिकेजी ४२ रुपैयाँ २४ पैसा हुन आउँछ ।

यातायात व्यवस्था विभागका अनुसार वीरगन्जदेखि काठमाडौंसम्मको ढुवानी भाडा प्रतिकेजी दुई रुपैयाँ २० पैसा निर्धारण भएको छ । तर, ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँ प्रतिस्पर्धाका कारण वीरगन्ज–काठमाडौंको ढुवानी भाडा एक रुपैयाँ ८० पैसा प्रतिकेजी रहेको बताउँछन् । एकातिर वीरगन्ज भन्सारमा तोकिएको मूल्य, कर एवं ढुवानी भाडालाई जोड्दा र अर्कोतिर रक्सौल, वीरगन्ज र काठमाडौंमा बिक्री भइरहेको मूल्यअन्तर मूल्यांकन गर्दा भन्सार छली र कालोबजारी भएको प्रस्ट हुन्छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले वीरगन्जदेखि काठमाडौंसम्मको ढुवानी भाडा, अन्य खर्चसमेत जोड्दा प्याजको कालोबजारी भएको बताउँछन् । ‘प्याजको प्रतिकेजी दुई रुपैयाँ २० पैसा ढुवानी भाडा जोड्दासमेत प्याजको मूल्य ४४ रुपैयाँ ६२ पैसा प्रतिकेजीका दरले काठमाडौंमा आइपुग्छ,’ उनले भने, ‘पसलको भाडा प्रतिकेजी १० रुपैयाँ नै जोड्दा र २० रुपैयाँ प्रतिकेजी नाफा राख्दा पनि प्याजको खुद्रा मूल्य प्रतिकेजी ७०–७५ रुपैयाँ भन्दा बढी हुँदैन ।’ कालिमाटी बजारको तथ्यांक हेर्दा पछिल्लो एक महिनामा दैनिक ४० टनका दरले प्याज भित्रिएको देखिन्छ । जब कि सामान्य अवस्थामा दैनिक ८०–९० टन प्याज भित्रिने गरेको थोक व्यवसायी प्रकाश गजुरेलले बताए ।

अनुगमनकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको बढ्दो मूल्य नियन्त्रणका लागि अनुगमन गरेको छैन । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बजारमा अभाव भएकैले मूल्य अकासिएको बताए । ‘बजारमा अभाव भएकाले मूल्य अकासिएको हो, यसमा हामीले गर्न सक्ने खासै केही छैन,’ उनले भने ।पछिल्लो समय मूल्य बढ्दै गएपछि आयात बिन्दु र बजारको मूल्य विश्लेषण गर्ने तयारी भएको विभागको अनुगमन शाखा निर्देशक सागर मिश्रले बताए । ‘प्याजको मूल्यको सन्दर्भमा भन्सारसँग भन्सार मूल्य मागेर मूल्य विश्लेषण गर्ने तयारीमा छौँ,’ उनले भने ।

मध्य असोजयता निरन्तर परेको बेमौसमी वर्षात्ले भारतीय किसानको बारीमै प्याज नोक्सान भयो । खासगरी नासिक, अहमदानगर र पुणेको उत्पादनमा ठूलो क्षति भयो । त्यसको असर भारतभर प(यो । राजधानी दिल्लीलगायत ठूला सहरमा प्याज आपूर्ति गर्न निकै कठिनाइ भएको छ । धेरै किसानले गत वर्षको मौज्दात बिक्री गरिरहेका छन् । तर, गत वर्षसमेत उत्पादनमा गिरावट आएकाले हालको मागअनुसार आपूर्ति हुन नसकेको दिल्लीका व्यापारीले बताएका छन् । मागअनुसार आपूर्ति हुन नसक्दा पछिल्लो तीन महिनामा थोक बजारमै मूल्य साढे तीन सय प्रतिशतसम्म वृद्धि भएको छ ।

यतिवेला भारतको राजधानी दिल्लीमा प्याज एक सय भारुभन्दा बढीमा कारोबार भइरहेको छ । प्याजको बढ्दो भाउ नियन्त्रण गर्न केन्द्रीय खाद्य एवं सार्वजनिक वितरणमन्त्री रामविलास पासवनले केही दिनअघि एक लाख टन प्याज आयात गरेर दिल्लीमा वितरण गर्न लागेको उद्घोष गरेका थिए । त्यसपछि भाउ केही तल झरेको हो ।

मन्त्री पासवानको घोषणालाई कार्यान्वयन गर्ने क्रममा ४ मंसिरमा प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय मन्त्रिमण्डलले एक लाख २० हजार टन प्याज आयात गर्ने निर्णय गरेको छ । यो निर्णयलगत्तै भारतीय सरकारका तर्फबाट अन्तर्राष्ट्रिय व्यापार गर्ने एमएमटिसीले चार हजार टन प्याज आयातका लागि टेन्डर गरिसकेको छ । थप ६ हजार ९० टन प्याज इजिप्टबाट आयात हुन लागेको छ । यो प्याज मुम्बईमा ५२–५५ भारु र दिल्लीमा ६० भारुमा बिक्री हुनेछ ।

विभिन्न राज्यसँग हालको मूल्य नियन्त्रणका लागि केन्द्र सरकारले प्याजको माग तथ्यांक मागेको छ । आन्ध्र प्रदेश, पश्चिम बंगाल, उडिसा, केरला र सिक्किमले माग संख्या पेस गरेका छन् । उपभोक्ता विभागका अनुसार विभिन्न राज्यले तत्कालका लागि दुई हजार दुई सय ६५ टन प्याजको माग गरेका छन् ।

भारतले दूतावास परिचालन गरेर अफगानिस्तान, इजिप्ट, टर्की र इरानबाट प्याज आयातको प्रबन्ध मिलाइसकेको छ । यसका साथै महाराष्ट्र र दक्षिणी राज्यबाट समेत उत्तर भारतमा प्याज आपूर्तिका लागि केन्द्रीय संयन्त्र लागिपरेको छ । भारतले दुई महिनाअघि नै सबै देशका लागि प्याज निर्यात बन्द गरिसकेको छ ।

राजधानी दिल्लीका गृहणीलाई शान्त पार्न मुख्यमन्त्री अरबिन्द केजरीवालले सस्तोमा प्याज बिक्री गर्ने घोषणा गरेका छन् । तर, आमनागरिकको पहुँच कम भएकाले राहत पाउन सकेका छैनन् । मुख्यमन्त्री केजरीवालले भनेका छन्, ‘दिल्ली सरकार ७० मोबाइल भ्यान र चार सय खाद्य किराना पसलबाट ७० विधानसभा क्षेत्रमा सस्तोमा प्याज उपलब्ध गराइरहेको छ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।