एक्कासि पेट दुख्यो भने यसरी हुनसक्छ ‘एपेन्डिसाइटिस’

काठमाडौँ , प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्कासि पेट दुखेपछि गत मंगलबार अस्पताला पुर्‍याइयो । लगत्तै एपेन्डेसाइटिसको शल्यक्रिया गरिएपछि उनी हाल बेडरेस्टमा छन् ।

पुन: मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका ६७ वर्षीय प्रधानमन्त्री ओलीको रोग निरोधक क्षमता कमीका कारण समयमै समस्या पहिचान हुन नसक्दा संक्रमण हटाउन लागि पेट खोलेर नै शल्यक्रिया गर्नुपर्‍यो । तर सबै बिरामीमा भने यस्तो स्थिति आउँदैन । एपेन्डेसाइटिस साधारण संक्रमणदेखि ज्यानै लिन सक्ने स्थिति (सेप्सिस) का रूपमा समेत देखिन सक्छ ।

‘एपेन्डेसाइटिसको समय मै समस्या पहिचान नहुँदा एपेन्डिक्स पेटमै फुटेर पेरिटोनाइटिस (पेटको संक्रमण) हुन्छ, यस्तो स्थितिमा पूरै पेट खोलेर संक्रमण हटाउनुका साथै एपेन्डिक्स फाल्नुपर्छ,’ वरिष्ठ शल्यचिकित्सक डा.सुनिल शर्मा ढकाल बताउँछन् । उनका अनुसार प्रधानमन्त्रीले उपयोग गर्ने ‘इम्युनोसप्रसेन्ट’ औषधिमा भएको एस्ट्रोराइडका कारण समयमै दुखाइ थाहा नभएर जटिल अवस्थामा आएको हो । तर यस्तो अवस्था सामान्य व्यक्तिमा भने नआउने उनको भनाइ छ ।

उसो त एपेन्डेसाइटिस ४ देखि ३० वर्ष समूहका व्यक्तिमा बढी देखिने भए पनि उमेर पाको हुँदै जाँदा यसको समस्या हुने सम्भावना घट्दै जान्छ । पेट रोग विशेषज्ञ डा.राहुल पाठक एपेन्डेसाइटिसको पहिचान गर्नु कठिन रहेको औंल्याउँदै भन्छन्, ‘एउटै परीक्षण र लक्षणले यो समस्या पहिचान गर्न कठिन हुन्छ । समस्या देखिए यसको उपचार शल्यचिकित्सा नै हो ।’

सामान्य अवस्थामा एपेन्डेसाइटिस हुँदा सुरुमा पेटको बीच भागमा बारम्बार दुखाइको अनुभव हुन्छ । त्यसको केही समयमा पेटको दाहिने तल्लो भाग अर्थात् एपेन्डिक्स भएको ठाउँमा दुख्न थाल्ने उनी बताउँछन् । एपेन्डिक्स भएको ठाउँमा थिच्दा, हिँड्दा, खोक्दा दुखाइ बढी हुने उनको भनाइ छ । पश्चिमा खानपानमा एपेन्डेसाइटिसको समस्या बढी हुने गरेको अध्ययनले देखाएको छ भने त्यहाँको दाँजोमा हाम्रो मुलुकमा यो समस्या कम देखिने गरिएको समेत डा.पाठक बताउँछन् । उसो त एपेन्डेसाइटिसको शत प्रतिशत पहिचान गर्न ‘सीटी स्क्यान’ एक मात्र विकल्प हो ।

राम्रो गुणस्तरको नयाँ अल्ट्रासाउन्ड मेसिन र यसलाई चलाउने दक्ष चिकित्सकले करिब ७० प्रतिशत रोग पहिचान गर्न सक्छन् । तर ३० प्रतिशत रोग पहिचान गर्न नसकिने औंल्याउँदै डा. शर्मा भन्छन्, ‘शतप्रतिशत रोग पहिचान गर्ने प्राय: सीटी स्क्यानबाट नै हो ।’ शतप्रतिशत रोग पहिचानमा समस्या भएकै कारण हाल एपेन्डेसाइटिसको आशंकामा पेटलाई चिर्दा दुई दशकअघिसम्म मुलुकमा एपेन्डेसाइटिस हुँदा ‘सेप्सिस’ भएर वा समयमै रोग पहिचान नभएर गलत उपचारले ज्यान जाने डर हुन्थ्यो । तर हाल स्थिति फेरिएको छ । ठूला स्वास्थ्य केन्द्रमा करिब ९० प्रतिशतसम्म यसको शल्यक्रिया ल्यापरोस्कोपिक विधि (पेट नखोली अर्थात् प्वाल पारेर) बाट समेत डा. शर्मा बताउँछन् ।

आफैं निको हुन्छन् ६० प्रतिशत

एपेन्डेसाइटिसका सबै समस्या चिन्ताजनक हुँदैनन् । समग्र एपेन्डेसाइटिसको समस्यामध्ये करिब ४० प्रतिशत मात्र चिन्ता गर्नुपर्ने खालका हुन्छन् ।

६० प्रतिशत समस्या भने आफैं निको हुन्छन् । ‘करिब ४० प्रतिशत एपेन्डेसाइटिसको समस्यामा संक्रमण फैलिएर शल्यक्रिया बाहेकको विकल्प हुँदैन,’ डा. शर्मा भन्छन्, ‘बाँकीमा एन्टिबायोटिकको माध्यमले सुकाउनेसमेत गरिन्छ ।’

के हो एपेन्डिक्स ?

‘एपेन्डिक्स’ आन्द्राको एउटा टुक्रा हो, जसलाई चिकित्सा भाषामा एपेन्डेसाइटिस भनिन्छ । एपेन्डिक्स पातलो र २–३ इन्च सानो ट्युबजस्तै हुन्छ । यसको एक भाग बन्द हुन्छ भने अर्को भाग खुला हुन्छ । यो आन्द्रामा ‘दिसा’, बन्ने ठाउँसँग जोडिएको हुन्छ । यही एपेन्डिक्समा हामीले अनुभव गर्ने दुखाइसहितको सुन्नाइलाई ‘एपेन्डिसाइटिस’ भनिन्छ ।

एपेन्डिक्सको शल्यक्रियालाई ‘एपेन्डेक्टोमी’ भनिन्छ । यसमा पेटमा सानो प्वाल पारेर लेपरोस्कोपिक शल्यक्रियाको माध्यमले वा पेटमा लामो चिरा बनाएरसमेत शल्यक्रिया गरिन्छ ।

लैपरोस्कोपिक शल्यक्रियामा घाउ ठूलो नहुने भएकाले बिरामी चाँडै निको हुनुको साथै अस्पतालमा समेत एक दिनभन्दा बढी बस्नु नपर्ने डा. शर्मा बताउँछन् । तर एपेन्डेसाइटिस फुटेको अवस्थामा वा अन्य कारणले ‘पेरिटोनाइटिस (पेटको संक्रमण) भए पेट चिरेरै शल्यक्रिया गर्नुपर्छ ।

लक्षण

एपेन्डेसाइटिस भएको खण्डमा हाम्रो नाइटोको छेउछाउमा तीव्र दुखाइ हुन्छ । यो दुखाइ पेटको दाहिने भागदेखि तल हुन्छ । उक्त स्थानमा छुँदासमेत बिरामीले तीव्र दुखाइ अनुभव गर्छन् ।

यसको दुखाइ सुत्दा, सामान्य रूपमा पल्टँदा वा बस्दा पनि निरन्तर रहिरहन्छ । अन्य कुनै शारीरिक क्रियाकलाप गर्दा दुखाइ झन् बढ्छ । यतिसम्म कि हामीले खोक्दा वा हाच्छिउँ गर्दासमेत पेटमा तीव्र दुखाइको अनुभूति हुन्छ । योसँगै वाक्वाकी लाग्नु, भोक कम लाग्नु, वान्ता हुनु वा पखाला लाग्नु आदिसमेत यसका लक्ष्ण हुन् । त्यसका साथै बिरामीको नाडीको चाल बढ्नुका साथै ज्वरो पनि आउन सक्छ ।

उपचार

एपेन्डेसाइटिसको लक्षण देखिएपछि समुचित उपचार नहुँदा हाम्रो पेटको दाहिने भागमा डल्लो बन्न सक्छ वा एपेन्डेसाइटिस फुट्न सक्छ । डल्लो बन्दा तीन–चार सातामा सामान्यसमेत बन्न सक्छ । यस्तो डल्लो भएर आउनेलाई एन्टिबायोटिक दिएर सुकाउने डा. पाठक बताउँछन् ।

‘सहरी क्षेत्रमा बस्ने यस्ता डल्लो भएर आउनेहरूलाई हामी तुरुन्त शल्यक्रिया गर्दैनौं, एन्टिबायोटिक दिएर केही समय कुछौं,’ डा. शर्माको अनुभव छ । तर दुर्गम क्षेत्रका बिरामीहरू यस्तै समस्या लिएर आउँदा डाक्टरले भविष्यमा कुनै जोखिम नलिन शल्यक्रिया गरेर निकाल्ने गरेका छन् ।

‘एपेन्डेसाइटिस एकपटक सुकेपछि पुन: दोहरिने सम्भावना १७ प्रतिशत मात्र हुन्छ,’ डा. शर्मा भन्छन् । उनका अनुसार यसैले सहरी क्षेत्रकालाई डल्लो भएर आउँदा एपेन्डेसाइटिसको एन्टिबायोटिकको माध्यमले उपचार गर्न सकिन्छ । एपेन्डेसाइटिस फुट्ने स्थितिमा पेटको झिल्लीसमेत संक्रमित हुने गम्भीर स्थिति आउन सक्छ ।