रोकिएन मेडिकल कलेजको ठगी धन्दा

विद्यार्थीसँग फेरि माग्न थाले अतिरिक्त शुल्क

काठमाडाैँ,एमबीबीएस र बीडीएस पहिलो र दोस्रो वर्षको शुल्क समायोजन गर्ने सहमति कार्यान्वयन नहुँदै मेडिकल कलजेहरूले तेस्रो र चौथो वर्षका विद्यार्थीसँग अतिरिक्त शुल्क माग्न थालेका छन् ।

भैरहवास्थित युनिभर्सल र पोखराको गण्डकी मेडिकल कलेजले विभिन्न शीर्षकमा अतिरिक्त रकम लिन विद्यार्थीलाई शुल्क चिट वितरण गरेका छन् । तेस्रो वर्षका विद्यार्थीसँग ५ लाख १४ हजार र चौथो वर्षका विद्यार्थीसँग ४ लाख ६४ हजारभन्दा बढी रकम मागिएको हो ।

गण्डकी र युनिभर्सल कलेजले सरकारले तोकेकै शुल्कमा विद्यार्थी पढाउने र बढी शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाएका थिए। गण्डकीले गत फागुनमै शुल्क समायोजन गर्ने प्रतिबद्धता जनाए पनि अझै पूरा गरेको छैन। सञ्चालकविरुद्ध कास्की अदालतमा दायर गरिएको ठगी मुद्दा विचाराधीन छ।

यी दुई कलेजले शिक्षा कर भनेर सरकारले तोकेको शिक्षण शुल्कको १ प्रतिशत रकम मागेका छन्। सरकारले उपत्यकाबाहिर एमबीबीएसका लागि ४२ लाख ४५ हजार र बीडीएसका लागि १९ लाख रुपैयाँ शुल्क तोकेको छ। विश्वविद्यालय परीक्षाबापत ५४ देखि ७१ हजार, संस्थागत शुल्क २६ हजार, कम्युनिटी फिल्ड भिजिटका लागि २२ हजार र आन्तरिक परीक्षाबापत १४ देखि १८ हजार रुपैयाँ माग गरिएको हो।

१० वटा शीर्षक बनाएर कलेजले बढी रकम माग्न थालेको गण्डकी मेडिकल कलेजका एमबीबीएस तेस्रो वर्षका छात्र अनित सिन्हाको गुनासो छ। शिक्षा मन्त्रालय र कलेज सञ्चालकबीच भएको सहमतिमा पहिलो र दोस्रो वर्षका विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्ने र तेस्रो र चौथो वर्षको हकमा चिकित्सा शिक्षा आयोगले छानबिन गर्ने भनिएको थियो।

विद्यार्थी भने सरकारले कलेज सञ्चालकसँग गरेको सम्झौता आफूहरूलाई अमान्य भएको बताउँदै आएका छन्। सम्झौता जलाएर उनीहरूले आन्दोलनका कार्यक्रमलाई अघि बढाएका छन्। सरकारले सञ्चालकसँग गरेको सम्झौता सच्याउनुपर्ने चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक मिलन गैरेको भनाइ छ। समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर फेरि बढी शुल्क माग्न थालेको जानकारी दिएको छ। ‘सबै ब्याचका विद्यार्थीबाट बढी रकम लिइएको प्रमाण विद्यार्थीसँग छ,’ गैरेले भने, ‘पहिलो र दोस्रो वर्षको मात्र समायोजन गर्ने भनेर विद्यार्थी आन्दोलनमा विभाजन ल्याउन खोजियो।’

अवैध शुल्क उठाउने सञ्चालकलाई पक्रिएर ठगी मुद्दा चलाउनुपर्नेमा सरकारले मेडिकल कलेजको पक्षमा सम्झौता गर्न पुगेको उनको भनाइ छ। ‘शुल्क समायोजन गर्ने भनेर अमूर्त कुरा गरिएको छ, कहिलेसम्म गर्ने, कसरी गर्ने भन्ने केही उल्लेख छैन,’ गैरेले भने, ‘कलेजहरूले विद्यार्थीपिच्छे ५/५ लाखका दरले बढी पैसा माग्न थालेका छन्।’

एमबीबीएस, बीडीएसलगायत चिकित्सा शिक्षासम्बन्धी सबै विषयका विद्यार्थीबाट लिएको रकम समायोजन गरिनुपर्ने विद्यार्थीको माग छ। ‘यो एमबीबीएस र बीडीएसका विद्यार्थीको मात्र आन्दोलन होइन। पहिलो वर्ष र दोस्रो वर्षको शुल्क मात्र समायोजन गर्छु भन्न मिल्दैन,’ एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी प्रविन गौतमले भने।

तेस्रो र चौथो वर्षको रकम पनि फिर्ता नगरे शिक्षण अस्पताल केन्द्रित आन्दोलन थालिने उनले बताए। शैक्षिक कार्यक्रम र परीक्षा बहिष्कार गर्दासमेत माग सुनाइ नभए मेडिकल कलेजमा अनशन थाल्ने विद्यार्थीको चेतावनी छ। मंसिर १८ गतेबाट सुरु हुने चिकित्साशास्त्र अध्ययन संस्थानको परीक्षासमेत बहिष्कार गर्ने विद्यार्थीको चेतावनी छ। कान्तिपुर दैनिकमा खबर छ ।