नेपाली राजनीतिमा भिजेको जब्बर सामन्तवाद

समस्याको चिरफार

नेपालमा समाज परिवर्तनको सुस्त तर निरन्तर गतिमा छ । प्राचीनकालदेखि नै यहाँ परिवर्तनका खातिर विविध संघर्षहरु चल्दै आए । संघर्षका क्रममा एउटा शासन अर्कोले विस्थापित गरे पनि कुनै भिन्नता आउन सकेको छैन । शासन शक्तिमा जोसुकै आए पनि अघिल्लो र पछिल्लोको शैली, संस्कार र तौरतरिका उस्तै हुने गरेका छन् ।

विगतमा राणाहरु हुन वा राणापछिका शासक, बहुदलीय प्रजातन्त्र होस वा लोकतान्त्रिक गणतन्त्र सबै शासन व्यवस्थामा परिवर्तित समयका स्वभाविक फरकपना वोहक कुनै फरक देखिएन । हरेकले संघर्षका दौरान आफूलाई अनेक तरहले भिन्न देखाउने भरमग्दुर प्रयत्न गरे पनि सबै अन्ततः उही कुवामा गएर घोप्टिने गरेका छन् ।

नागरिकका पछिल्ला अनुभूति त झन भयानक छन । मानिस विगततिर फर्कन थालेका छन् । पहिलेकै व्यवस्था ठिक थियो भन्ने मानिसका मनका कुनाकन्तरामा जाग्न थालेको छ । जतिसुकै क्रान्तिकारी डिङ हाँके पनि अन्तमा उही गति मतिमा लहसिने एक खतरानाक रोग नेपालमा देखा परेको छ । त्यसैले अहिले सतहमा देखा परेका सामाजिक राजनैतिक आन्दोलनप्रति मानिसको मनभित्रैदेखि आशा जाग्न सकेको देखिदैन । यो सामान्य कुरा होइन । यसको जरो खोतल्नु जरुरी छ ।

समस्याको पहिचान

सिंगो भारी शरिरलाई अन्ततः टाउकोले नै नियन्त्रण गर्छ । टाउको केवल पदार्थ होइन । वा त्यसरी बुझ्नु हुँदैन । यसको महिमा सोच्न सक्ने क्षमतामा छ । सोच, दृष्टिकोण वा विचार नै यसको महत्ता हो । भन्न सकिन्छ कि समस्याको जड पनि यही टाउकोमा छ र समाधान पनि । आजका सामाजिक समस्या पनि अन्ततः त्यही सोच, दृष्टिकोण वा विचारमा जोडिन्छन । टाउको सिर्जित मानव ज्ञान चेतना, सभ्यता र संस्कारसँग यो जोडिन्छ । यसको एक ऐतिहासिक श्रृंखला र गहिराईमा पुगेर केलाउनु हेर्नुपर्दछ । केवल ‘ऊ’ भन्दा ‘म’ राम्रो भनेर कसैले घोषणा गरिहाल्दैमा, दावी गरिहाल्दैमा वा तिघ्राका बलमा त्यो स्वीकार गराउँदैमा राम्रो ‘म’ राम्रो भइहाल्दैन ।

ज्ञान व्यवहारसँग सम्बन्धित हुन्छ । व्यवहारबाट सिर्जित हुने र फेरि व्यवहारमा लागु हुनसक्ने ज्ञान सही ज्ञान हो । जुन ज्ञान चेतनाले समाजलाई जोड्न सक्छ र ठूलो जनसमूहलाई हित गर्नसक्छ, त्यो ज्ञान सच्चा ज्ञान हो । कुनै आवेगी मनुष्यले एक ठाउँमा आफूलाई सन्कीपारामा यी सबैभन्दा म ठीक छु, मेरो ज्ञान सही छ र मेरो योजनामा अघि बढ भनेर कुर्लदैमा आजको समाज अगाडि बढ्न सक्दैन । उसले दावी गरेको ज्ञान, उसको चेतना र उसको दावीलाई ऐतिहासिक श्रृंखला र विकसित सामाजिक वास्तविकतासँग जोडेर हेनुपर्दछ । अथवा तिघ्रा देखाएर बलिष्ठ हुने र आँखा तरेर मुढेबलका आधारमा मान्छे तह लगाउने केही निश्चित समयसम्मका लागि मात्र हो वा यो सापेक्षिक हो ।

ज्ञानलाई ऐतिहासिक श्रृंखलालाई हेर्दा मानव समाजको विकास क्रमलाई हेर्नुपर्दछ । व्यवहारमा घोटिदै जाँदा मानिसमा नयाँ नयाँ चेतना विकसित हुँदै आएको छ । जुन समाज गतिशील हुन्छ र अरु विश्वसँग आफूलाई जोड्न सक्छ, त्यो समाज छिटो विकसित भएको छ । नेपाली समाजलाई अध्ययन गर्दा निकै लामो समयसम्म एउटा एउटा निश्चित सोच र स्वार्थले राज गर्यो । नेपालमा विभिन्न समयमा एउटा निश्चित वंशले एक शताब्दीदेखि १८०० वर्ष लामो समयसम्म राज गरेका छन् ।

तर, एउटै समानता के छ भने यी सबै व्यवस्थाहरु सामन्ती व्यवस्था थिए । सामन्तवादका दुई हाँगा छन, एउटा भूमिमा आधारित सामन्तवाद र अर्को संस्कृतिमा आधारित सामन्तवाद । आजसम्म नेपाली भूगोल सामन्ती व्यवस्थामै रहेको छ । प्राचीन इतिहास नकेलाउने हो भने पनि २४० वर्षे शाह वंशीय शासन, १०४ वर्षे राणा शासन, ३० वर्षे पञ्चायतको शासन, १६ वर्षको बहुदलीय प्रजातान्त्रिक राजतन्त्रात्मक व्यवस्था र आजको लोकतान्त्रिक गणतन्त्र पनि सामन्ती राजनीतिक व्यवस्था नै हुन् ।

चाहे भूमिमा आधारित भए पनि चाहे संस्कारमा आधारित भए पनि सामन्तवाद एउटा सोच हो । यो शासनको शैली वा संस्कार नै हो । राज्यको नेतृत्व लिएर होस वा नलिएर आजसम्मको नेपाली भूखण्डमा सामन्तवादले शासन गर्दै आएको छ । सामन्तवाद केवल राजतन्त्रात्मक व्यवस्था मात्र होइन ।

समस्याको चिरफार

अहिले हरेक नेपालीको मनले एउटा चमत्कारिक राजनेता खोजिरहेको छ । खोज्नु स्वभाविक भए पनि अहिल्यै त्यस्तो नेता जन्मिने देखिदैन । किनकि नेपाली समाजमा लामो समयदेखि सिर्जनात्मक क्षमताको हत्या गरियो । त्यो क्षमता एउटा निश्चित वर्ग, कूल वा वंश वा जातिमा मात्र हुने कुरा स्वीकार गरियो । सामान्य मान्छेमा देशको नेतृत्व गर्नसक्ने क्षमता हुने वा त्यो क्षमता हासिल गर्नसक्ने कुरालाई इन्कार मात्र होइन बहिस्कार नै गरियो । कतै जन्मने क्षमताहरुलाई पनि समाजले पूरै दबाएर प्रोत्साहन गर्ने होइन कि पूरै दुरुत्साहन गरेर दवाइयो । अथवा नेपाली समाजलाइृ त्यसमा अभ्यस्त बनाइयो । आज पनि त्यही गरिदैछ ।

सामन्ती व्यवस्थाको सबैभन्दा खतरानाक खरावी भनेको ज्ञान, चेतना र बुद्धिको विकासमा केही निश्चित वर्गको ठेकेदारी हुनु हो । आम नागरिकमा सकेसम्म ज्ञान चेतनाको विकास हुनै नदिनु भए पनि त्यसलाई स्वीकार गर्दै नगर्नु र दमन गरेर सिध्याउनु सामन्तवादको खराब विशेषता हो । सामन्तवाद सधै आफूलाई धुरीमा राखेर हेर्ने र अरुलाई आफ्नो सेवक ठान्ने प्रवृति हो । नेपाली समाज प्राचीन समयदेखि आजसम्म त्यही सामन्ती सोच, संस्कार, शैली र प्रवृतिले राज गर्नुका साथै त्यसैमा शिक्षित दिक्षित हुँदै आएका कारण आफूलाई अगुवा ठान्ने आजका प्राय सबै राजनीतिक नेताहरुमा त्यो प्रवृति छ ।

जतिसुकै क्रान्तिकारी आफूलाई प्रजातन्त्रवादी भन्नेहरु त घोषित रुपमै आफूलाई एक सामन्त ठान्छन र त्यसमा गर्व गर्छन, आफूलाई सबैभन्दा खरो क्रान्तिकारी कम्युनिस्ट भन्नेहरु पनि सामन्ती संस्कार र शैलीबाट ग्रसित छन । नेपालका कम्युनिस्ट भन्नेहरुका सोच, चिन्तन, शैली र प्रवृतिलाई मसिनो गरी केलाउने हो भने अझ कठोर सामन्त यिनै हुन भन्न सकिन्छ । सामन्ती सोचले आफूभन्दा उमेर वा जिम्मेवारीमा कम रहेको व्यक्तिको क्षमता स्वीकार्नु त के आफ्ना अगाडि बोलेको पनि स्वीकार गर्दैन । बोले पनि उसले बोलेको कुराको जसजति उही अगुवालाई थोपरेर उहाँकै निगाहमा मैले यति कुरा बोले भन्ने शैलीमा भनेपछि मात्रै स्वीकार गर्छ ।

नेपालका सबै राजनीतिक दलहरु यही सामन्ती सोच, चिन्तन, परम्परा र बुझाइबाट ग्रसित छन् । जतिसुकै आफूलाई क्रान्तिकारी दावी गरे पनि नेपालका सबै दलका सांगठनिक संरचनाहरु एउटै छन् । राजा आउ देश बचाउ भन्ने राजावादीदेखि समाजवादी व्यवस्थाका लागि लड्छु भन्नेहरुका सांगठनिक संरचनामा कुनै फरक छैन । सबै दलमा तहगत कमिटिहरु छन र केन्द्रीय कमिटि उनीहरुको उच्च अंग हो ।

तर, त्यतिमात्र छैन, यी सबै दलका केन्द्रीय कमिटि केवल नेताका नजिक रहनसक्ने गोठालाहरुको कमिटि मात्र हो । त्यसभन्दा पनि माथि सानासाना कमिटि बनाइएका छन् । तर, अन्ततः सबै दलमा अन्ततः एउटा व्यक्ति मात्र हावी हुन्छ । जुन त्यो दलको राजा नै हो । महाराजधिराजको हुकुम जसरी त्यो शिर्ष नेताबाट जे कुरा बक्स हुन्छ, अन्ततः त्यो पार्टीको निर्णय नै त्यही हो । उदाहरणका लागि संवैधानिक राजतन्त्र अपरिवर्तनीय ठान्ने नेपाली कांग्रेसको लामो समय चलेको बैठकमा गिरिजा प्रसाद कोइरालाले न व्याख्या न कुनै ठूलो भूमिका गणतन्त्र पास गराएको ताजा उदाहरण हाम्रै अगाडि छ । बुद्धिविलास गर्ने कांग्रेसका धेरै नेताहरुलाई चुप लगाउँदै गिरिजा प्रसादले भने, म गणतन्त्र भन्छु, तपाईहरु गणतन्त्र भन्नुस ।

अनि गिरिजाप्रसादले तीन चोटी गणतन्त्र जिन्दावाद भनेपछि कांग्रेसको त्यति लामो संवैधानिक राजतन्त्रको अडान शिवखुलित भयो र भोलिपल्टदेखि कांग्रेस गणतन्त्रको एजेन्डामा दौडियो । त्यहाँ संवैधानिक राजतन्त्र हुनुपर्छ वा गणतन्त्र नै हुनुपर्छ भनेर सैद्धान्तिक व्याख्या विश्लेषण गर्ने कुनै पनि नेताहरुको केही लागेन । ठीक त्यसैगरी अरु पार्टीहरुमा पनि त्यही अवस्था छ । बुद्धि उत्पादन गर्ने जिम्मा थोरै केही नेतामा हुन्छ । सबै राजनीतिक दलभित्र कार्यकर्तामा आलोचनात्मक चेत स्वीकार्य छैन । कार्यकर्ताको विद्धता उपल्ला तहका नेताका लागि देखेर सहन नसक्ने दुश्मनी हुन्छ । कहिलेकाही कम्युनिस्ट पार्टीहरुमा निकै ठूलो जनवादको चर्चा हुनेगर्छ, तर ती सबै शास्त्रमा लेखेका जपना मन्त्र मात्र हुन । नेताले कहिलेकाही नाटक गर्छन र केन्द्रीय समिति र तल्ला कमिटिहरुमा छलफल गराएजस्तो गर्छन, त्यो केवल मान्छेलाई भुलाउने अल्झाउने खेल मात्र हो ।

तल्ला कमिटिमा हुने छलफल, त्यहाँका सुझाव कहिल्यै माथिल्लो कमिटिले लिँदैन । लिन्छ त त्यस्तो बेला मात्र जुन बेला नेताले आफूलाई चाहेको कुरा तलकाले भन्ने गर्छन । उसो त अधिकांश तलकाहरु पनि सामन्ती संस्कारले यति लिप्त भइसकेका हुन्छन कि उनीहरु नेताले के चाहेको छ भन्ने गन्ध सुघ्ने गर्छन र त्यसैमा रेती लगाउन थाल्दछन, फूलबुट्टाहरु भर्न थाल्दछन । उनीहरु पनि केवल नेतालाई खुसी बनाएर आफ्नो माहोल बनाउन मात्र होडवाजी गर्दछन । आजका कम्युनिस्ट नेताहरुमा एउटा खतरानाक सामन्ती इगो छ ।

विगतमा जमिन्दारहरुले आफ्नो कोही रैती आफ्ना अगाडि नयाँ लुगा लगाएको देख्यो भने, चुच्चे टोपी लगाएको भेट्यो भने, अलि सुकिलो लगाएको देख्यो भने वा कहिलेकाही सिधा नजरले आफ्नो आँखामा हेर्यो भने मात्र पनि ठाउँका ठाउँ त्यसलाई कारवाही गराउँथ्यो । केही पाएन भने पनि बाटोमा लठ्ठी तेस्र्याएर फाल्ने, बाटोमा हिड्ने सामान्य मान्छेले त्यो लठ्ठी नाघ्यो भनेर कारवाही गराउने सामन्ती प्रचलन नेपालको हो । ठीक त्यही शैलीकै प्रभाव आज नेपालका कम्युनिस्ट भन्नेहरुका व्यवहारमा देखिन्छ । आजका कम्युनिस्ट नेताहरुमा यस्तो सामन्ती इगो छ कि उनीहरु कोही कार्यकर्ताले सिधा नजरले हेर्यो र तर्क गर्न खोज्यो भने त्यो कार्यकर्तालाई ठाउँका ठाउँ कारवाही गराउन तम्सिने गरिरहेका छन् ।

जब कमिटि प्रणाली सबल बन्दैन, नेताले संगठनहरुलाई धोती लगाइरहन्छ, आन्दोलन वा सिंगो पार्टीको हितमा होइन, आफ्नो अनुकूलतामा कमिटिहरु निर्माण गर्ने, तिनलाई सक्रिय पार्ने र परिचालन गर्ने गरिरहन्छ, तब कम्युनिस्ट संगठनात्मक सिद्धान्त केवल खोक्रो र नेताको पजनीमा सिमित हुन्छ । वास्तवमा नेपालमा स्वघोषित नेताहरुका यस्तै इगो टक्करले नै कम्युनिस्ट पार्टीहरु टुक्रा टुक्रा बनेका छन । जति पनि पार्टी फुटेका छन्, ती सिद्धान्तका कारणले कतै छैनन । सुरुमा केही साना कारणले वा इगो टक्करले नेता असन्तुष्ट बन्ने र त्यसपछि क्रमशः गुट चलाउँदै पार्टी फुटाउने अनि सैद्धान्तिक लेपन दिने गरिएका छन् ।

अर्को कुरा नेपालमा जति पनि दल खोलिएका छन्, तिनकाबीचमा कुनै पनि ठूलो राजनीतिक विचारको खाडल छैन । यी सबै राजनीतिक दलले भन्दाखेरि जनताको बृहत्तम हित भन्छन, गर्दा आफूहरुको मात्र दुनो सोझ्याउँछन । यी सबै राजनीतिक पसल मात्र हुन् । यी सबै सामन्ती चिन्तन र सोचका उपज इगोका दोकान मात्र हुन् । नेताहरु ती दोकानका मालिक र कार्यकर्ताहरु दोकानमा कैद गरिएका दास मात्र भएका छन् । यो नै आजको नेपालको सबैभन्दा ठूलो समस्या हो ।

युरोपले समयमै पछारेको र एशियाले आजसम्म जोगाएको जड

सामन्ती व्यवस्था रक्षक र अधीनस्थ मानिसहरुको एक संगठन हो । यो व्यवस्था मध्ययुगमा इङ्ल्यान्ड र यूरोपमा प्रचलीत प्रथा थियो । जहाँ सामन्तहरुका कयौं श्रेणीहरु थिए । ती सबैभन्दा शीर्ष स्थानमा राजा हुने गथ्र्यो । राजापछि विभिन्न कोटीका सामन्त हुने गर्थे र सबैभन्दा तल्लो तहमा किसान या दास हुन्थे । राजा समस्त भूमि तथा जमिनको स्वामी मानिन्थ्यो । उसका प्रजाहरु राजाप्रति स्वामीभक्ति प्रस्तुत गर्थे । राजाको रक्षाका लागि सेना सुसज्जित गर्ने काम सामन्तहरुको हुने गथ्र्यो ।

युरोपको इतिहासमा नवौं र दसौं शताब्दी घोर अराजकताको युग थियो । बर्बर जातिको आक्रमणले गर्दा केन्द्रीय शासन छिन्नभिन्न हुनथाले । धनजनको सुरक्षा भएन । युरोपका सारा राज्यहरू टुक्राटुक्रा हुन थाले । यस्तो भयानक परिस्थितिको मुकाबिला गर्ने एक नयाँ व्यवस्थाको आवस्यकता पर्न थाल्यो । ठूलाठूला जमिनदारहरुले आफ्ना परिवारको सुरक्षाको लागि किल्ला जस्ता ठूल्ठूला घरहरु बनाउन थाले । गरीबहरू त्यस किसिमको प्रबन्ध मिलाउन असमर्थ थिए । अतः तिनीहरु ठूलाठूला जमीन्दारहरूले बनाएका घरहरूमा शरण लिन पुगे । आफूहरू समेत तिनीहरूकै संरक्षणमा रहन लागे । जमीनदारहरुले आफ्नो र आफ्ना संरक्षणमा आउनेहरूको रक्षाको लागि हातहतियारले सुसज्जित लडाकुहरू राख्न थाले । हतियारले सुसज्जित लडाकुहरुको भरणपोषणको लागि भूमी दिइन्थ्यो, जसलाई मेनर भनिन्थ्यो । प्रत्येक मेनरको एक गाउँ हुन्थ्यो र नाइट त्यस मेनरको मालिक हुन्थ्यो । कैयौं शताब्दीसम्म ठूलाठूला जमीनदारहरूले नै सरकार चलाए । एउटा बलियो केन्द्रीय सरकारको साटो कैयन् सानासाना सरकारको उत्पत्ति भयो । त्यसप्रकारको व्यवस्थालाई नै सामन्तवाद भनिएको हो ।

मध्यकालीन युरोपीय समाज शासकवर्ग, पादरीवर्ग र किसानवर्ग मूलतः तीन श्रेणीमा विभाजित थियो । शासकवर्गसँग असीमित जमीन थियो । त्यति विशाल भूमीको प्रवन्ध यिनीहरू आफैं गर्न सक्दैनथे । त्यसैले यी भूमिपतिहरुले आफ्नो जमिनको केही भाग सानासाना भूमिपतिहरूलाई दिने गर्थे । बदलामा यिनीहरूबाट सैनिक सेवा र आवश्यकता परेमा आर्थिक मद्दत लिने गर्थे ।

प्रारम्भीक चरणमा सामन्तवादले स्थानीय सुरक्षा, कृषि तथा न्यायको समुचित व्यवस्था गरेर समाजको प्रशंसनीय सेवा गरेको थियो । तर, कालान्तरमा व्यक्तिगत युद्ध एवं व्यक्तिगत स्वार्थ नै सामन्तहरुको उद्देश्य बन्यो । साधन सम्पन्न नयाँ शहरहरुको विकास, बारूदको आविष्कार, तथा स्थानीय राजभक्तिको स्थानमा राष्ट्रभक्तिको उदयको कारण सामन्तशाही पतन भयो ।

युरोपियन समाजमा एक निश्चित अवधिसम्म सामन्ती व्यवस्थाले प्रगतिशील भूमिका नै निर्वाह गरेको थियो । तर, विकसित चेतनालाई एउटा विलासी राजा वा सामन्तले रोक्न सक्ने कुरा थिएन । विश्वसमाज आएको फेरबदलको प्रभाव पनि सामन्ती शासन व्यवस्थामा पर्दै गयो । युरोपले सामन्ती व्यवस्थालाई समयमा नै फाल्यो र पुँजीवादी व्यवस्थामा अघि बढ्यो । जसका कारणले युरोपको विकास निकै अघि बढ्यो । तर, नेपालजस्ता एशियाली मुलुकहरुमा भने आजप्रयन्तः सामन्ती व्यवस्था कायमै छन् । सामन्ती व्यवस्थाको सबैभन्दा लामो आयु एशिया, त्यसमा पनि नेपालमा देखा पर्यो । आज पनि सामन्ती व्यवस्थाको गहिरो छाप नेपालमा छ । हाम्रो सोच, संस्कार र चेतनामा छ ।

सामन्तवादलाई परास्त गर्नु आजको सबैभन्दा ठूलो दायित्व

मानव समाजलाई ऐतिहासिक श्रृंखलामा अध्ययन गर्ने क्रममा कार्लमाक्र्सले सामन्ती युगलाई दास युगभन्दा प्रगतिशील भन्नुभएको छ । तर, उहाँको अध्ययन त्यतिमा सीमित भने होइन । उहाँले दास युगभन्दा सामन्ती युग र क्रमशः पुँजीवादी युग, समाजवादी र साम्यवादी युगको व्याख्या गरेर पुरानो पुरातन वा पश्चगामी युगभन्दा पछिल्लो युग प्रगतिशील भन्नुभयो । यस अर्थमा कतिपयले सामन्ती समाज पनि प्रगतिशील समाज नै हो भनेर भन्नसक्छन् । त्यतिमात्र होइन, उनीहरुले यो कुरा कार्ल माक्र्सले नै भन्नुभएको छ भनेर कतै कुतर्क पनि गर्न सक्छन् । कुराको सबैभन्दा ठूलो चुरो नै यहीनेर छ । किनकि यस्तो नेपालको कम्युनिस्ट आन्दोलनमा हुने गरेको छ । यसका केही उदाहरणहरु हामी केलाउन सक्छौ ।

आजसम्मको कम्युनिस्ट पार्टीभित्र जे सिकाइन्छ र सिकाइवमोजिम सिक्नेहरुले जे प्रस्तुति गर्ने गर्छन, त्यो यसको ज्वलन्त उदाहरण हो । खासमा त्यहाँ उनीहरुले आफै सिर्जनशील भएर सिकेका हुँदैनन । नेपाली समाज अघिल्लो दशकसम्म पनि सूचना सञ्चार प्रविधिको विकास र प्रयोगमा निकै पछि थियो । खासगरी पछिल्लो दसक इन्टरनेट प्रविधिको उच्च विकास र सामाजिक सञ्जालहरुको व्यापक प्रयोगले ज्ञानमा केही सीमित मान्छेहरुको पहुँचलाई तोड्यो । मेहनत गर्ने हो भने सूचना र ज्ञानमा सबैको पहुँच कायम भयो । नत्र हिजोसम्म नेपाली राजनीतिक दल (अझ त कम्युनिस्ट पार्टी)मा उपल्लो तहको नेता ज्ञानको ठेकेदार हुने र उसले आफूभन्दा तल्लो तहका नेता कार्यकर्ताहरुलाई एउटा कोठाभित्र राखेर घन्टौ प्रवचन दिने चलन थियो ।

नेताकै प्रवचन वा प्रशिक्षणबाट दिक्षित भएर त्यसकै आधारमा कार्यक्षेत्रमा जनतालाई प्रशिक्षित गर्ने अभ्यास आजसम्म नेपालमा भएको अभ्यास हो । अझै पनि त्यो अभ्यास जारी छ । यतिसम्म कि माथिल्लो नेताले विश्व परिघटनाहरुको पनि चर्चा गरिदिनुपर्ने र राष्टिय परिस्थिति के छ भन्ने पनि भनिदिएपछि मात्र तलकाले ए यस्तो पो रहेछ भन्ने थाहा पाउने । कसलाई के भन्ने शब्द, विशेषण र विश्लेषण पनि नेताले नै सिकाइदिनुपर्ने । नेता ज्ञान र सूचनाको महान भण्डार, कार्यकर्ता सबै खाली बोत्तल ।

नेता एक किसिमको प्रभु सरह हुन्छन भने कार्यकर्ता प्रभुका अन्ध भक्त । यसले एकातिर सिक्ने, जान्ने, पढ्ने, विश्लेषण गर्ने काम नेताको हो र कार्यकर्ताले त नेताले जे जे भन्छन, त्यही सुन्ने र सो वमोजिम खुरुखुरु दायाँ बायाँ नगरी लागु गर्ने हो भन्ने चलन हावी गरायो । एकातिर यसले कार्यकर्ताहरुको सिर्जनात्मकतालाई हत्या गरिदियो भने अर्कोतिर परनिर्भर चेतना हावी गरायो । त्यसमाथि अझ पार्टी अनुशासनको डण्डा चलाइदा त्यहाँ नेताले भनेको कुरा भगवानले भनेसरह भयो ।

वास्तवमा राजनीतिक चेतना उच्च भएका मान्छे आफ्नो मत दिन्छ, अर्काले भनेको कुरा सही वा गलत छुट्याउँछ । आफैले पनि ती तथ्यहरु खोतल्ने र पत्तो लगाउँछ । सचेत नागरिक त्यस्तो खाली बोत्तल होइन, जसमा जसले जे चाह्यो त्यही भरोस । सबैभन्दा ठूलो कुरा चेतनशील मानिसले प्रभुको भक्तिगान गर्दैन । प्रभुको भक्तिगान तिनले गर्छन, जो आफूलाई कमजोर ठान्दछन । मानिस र मानिसका बीचमा ठूलो भेद देख्छन । यो उनीहरुको दब्बु मानसिकताको उपज हो । ठीक अर्कोतिर ती कथित प्रभुहरु जहिले पनि आफ्नो वाहवाही चाहन्छन । चाकडी खोज्छन, चाप्लुसी खोज्छन ।

प्रशंसा चाहन्छन । जब उनीहरु कतै प्रशिक्षण दिने वा भाषण गर्छन, त्यो सकिएपछि वरिपरि जम्मा भएका कार्यकर्तालाई कतिखेर सोधम भन्ने हुटहुटी तिनका मनमा उब्जिएको हुन्छ । अनि सोध्छन, कस्तो भयो हँ मेरो भाषण ? । वास्तवमा त्यो त उनका मुखबाट ओकलिएको उनी भित्रको सत्य हो । त्यो बेला कसैले आज तपाइले भाषणमा बिगार्नुभयो भन्यो भने त्यहाँ बसिसक्नु नहुनसक्छ । खासमा उसले वडो राम्रो गर्नुभयो भन्ने प्रशंसा चाहेको हुन्छ ।

नेपालमा औचारिक रुपमा सामन्ती व्यवस्थाको अन्त्यको घोषणा त गरियो तर यहाँ सामन्ती संस्कार, शैली, सोच चिन्तन भने कायमै छ । त्यसका विरुद्ध निर्मम संघर्ष गर्नु आजका युवाहरुको जिम्मेवारी हो । हामीले जब्बर रुपमा भिजेको सामन्तवादलाई परास्त नगरी नेपालको राजनीतिले नयाँ कोर्स लिनसक्दैन । यदि नेपालको राजनीतिक यात्रालाई सही बाटोमा लगाउने हो भने हाम्रा संस्कारमा भिजेको सामन्तवादलाई परास्त गर्नु जरुरी छ ।